राजपाको नियन्त्रणमा रहेका मतदान अधिकृतहरु छुटे
सप्तरीको राजविराजमा जारी मतदान अधिकृत प्रशिक्षण कार्यक्रम स्थगित गरिएपछि राजपाले नियन्त्रणमा लिएका अधिकृत र सहायकअधिकृतहरुलाई छोडेको छ ।
स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सप्तरीमा खटिएका मतदान अधिकृत र सहायक अधिकृतहरुका लागि प्रशिक्षण हुँदै थियो । कार्यक्रम शुरु हुनुअघि नै राजपाका नेता–कार्यकर्ताले कार्यक्रम स्थललाई घेरा हाली प्रशिक्षणका लागि पुगेका करिब ५० अधिकृतहरुलाई नियन्त्रणमा लिएका थिए । तालिममा सहभागी हुन जान लागेका अन्य भने बाटोबाटै फर्किएका थिए ।
करिब १ घण्टापछि प्रशिक्षण कार्यक्रम स्थगित गरिएको भन्ने स्थानीय प्रशासनको सूचना पाएपछि राजपाले उनीहरुलाई पुनः निर्वााचनसम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने चेतावनी दिई छोडेको हो ।
उक्त स्थलमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि प्रहरीले हस्तक्षेप नगरेकाले कुनै अप्रिय घटना हुन पाएन ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रशिक्षण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
श्रवणकुमार देव, राजविराज