राजविराजः करिब ५० मतदान अधिकृत राजपा कार्यकर्ताको नियन्त्रणमा
राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले सप्तरीको राजविराजमा करिब ५० जना मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् ।
१४ असारमा हुने स्थानीय तह निर्वाचनका लागि सप्तरीमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतको राजविराजस्थित महेन्द्रविन्देश्वरी क्याम्पसमा प्रशिक्षण सञ्चालन भइरहेका बेला राजपा कार्यकर्ताहरुले कार्यक्रम स्थल घेराउ गरी उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।
तालिम शुरु हुनु अघि नै तालिमस्थल पुगेका अधिकृतहरुलाई राजपा कार्यकर्ताहरुले नियन्त्रणमा लिई आफूसँगै धर्नामा राखेका छन् । अहिले त्यहाँ राजपा कार्यकर्ताहरुले धर्ना साथै नारबाजी गरिरहेका छन् ।
उक्त स्थानमा ठूलो संख्या नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको भए पनि प्रहरीले हालसम्म कुनै हस्तक्षेप भने गरेको छैन ।
राजपा कार्यकर्ताहरुले राजविराजका विभिन्न स्थानमा आज विहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
श्रवणकुमार देव, राजविराज