बन्दले वीरगञ्ज ठप्प
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गराएको मधेश बन्दको आज दोस्रो दिन विहानै वीरगञ्जमा प्रदर्शन भइरहेको छ ।
वीरगंजको मुर्ली, बाईपास, नगवा, भन्सार, गण्डक लगायतका स्थानमा राजपाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
विहान राजपाका कार्यकर्ताहरुले घण्टाघर अगाडि सडकमै धर्ना दिदै गर्दा गस्तीमा पुगेको नेपाल प्रहरीको ना १ झ ५६९ र सशस्त्र प्रहरीको बा १ झ १५३१ नम्बरको गाडीलाई त्यहाँबाट फर्काएका थिए । स्थिति तनावग्रस्त हुन थालेपछि प्रहरी त्यहाँबाट हटेको थियो ।
राजपाले बन्दका बेला एम्बुलेन्स, दुध बोक्ने गाडी, कुटनीतिक नियोग, पत्रकार, प्रहरीको गाडीमा रोक नलगाउने बताए पनि प्रहरीको गाडीमा रोक लगाएको छ ।
राजपाका केन्द्रीय नेता राजेन्द्र महतो वीरगञ्ज आएपछि राजपाका कार्यकर्ताहरुले बन्दलाई कडा पारेका हुन् ।
बन्दका कारण आज दास्रो दिनपनि वीरगंज भन्सार कार्यलय र सुख्खा बन्दरगाह सिर्सियाबाट जाने सयौं ट्रकहरु रोकिएका छन् ।
दिनकै १५ सय बढी मालसमान बोकेको गाडी देशभरी जाने मुख्य भन्सारबाट मंगलबार बन्दका कारण कुनै पनि मालबाहक ट्रक जान नसकेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताए ।
बन्दका कारण औद्योगिक कोरिडोर, बीरगञ्ज बजार, शिक्षण संस्था, लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन समेत ठप्प हुँदा सर्वसधारण मर्कामा परेका छन् ।
राजपाले मधेश बन्द गराए पनि बाराको जीतपुरबाट भने निर्वाध रुपमा गाडीहरु चलिरहेका छन् । जितपुर, सिमरा उपमहानगरपालिकाबाट पूर्व र हेटौँडातर्फ जाने गाडीहरु चलिरहेका छन् ।
महोत्तरीमा कार्यक्रम बिथोले
बन्दको बेला कार्यक्रम गरेको भन्दै राजपाका कार्यकर्ताले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा ल्याप्टप फुटाउँदै कार्यक्रम बिथोलेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नेपाल मधेश फाउन्डेसनले मङ्गलबार जलेश्वरस्थित रेडक्रस सभाहलमा ‘सामाजिक जवाफदेहिताका लागि औजारसम्बन्धी एकदिने अभिमुखीकरण’ कार्यक्रम गरिरहेको बेला राजपाका आठरदश कार्यकर्ता कार्यक्रमस्थलमा गएर तोडफोड गर्दै कार्यक्रम बिथोलेका थिए ।
उनीहरुले ल्यापटप र फर्निचर फुटाउनुका साथै कार्यक्रमको ब्यानर झिकेर आगो लगाएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट घटनास्थल पुगेका प्रहरी टोलीले थप क्षति हुनबाट जोगाएको थियो भने कार्यक्रम बिथोल्ने र तोडफोड गर्ने राजपा कार्यकर्ता फरार भएको नेपाल मधेस फाउन्डेसन महोत्तरीका संयोजक अर्जुनकुमार साहले बताए ।
जियालाल साह, वीरगञ्ज