नेपाल र यमन ३ बजे हलचोकमा भिड्दै
नेपालले एशियन कप फूटबल– २०१९ छनोट चरणको दोस्रो खेल यमनसँग आज दिउँसो ३ बजे हलचोक रंगशालामा खेल्दैछ ।
फिलिपिन्सको मनिलामा तीन महिनाअघि भएको पहिलो खेलामा फिलिपिन्ससँग ४–१ ले हारेको नेपालले घरेलु मैदान र दर्शकको हौसलाको फाइदा उठाउन सक्यो पनि नतिजा सुखद हुनसक्छ ।
एकसाता अघि मुम्बईमा भारतसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले २–० ले हार ब्यहोरेको थियो । फिफा वरियताक्रममा यमन भारतभन्दा तल भए पनि नेपालभन्दा माथि छ । फिफा बरियतामा भारत १०० औं, यमन १२४ औं र नेपाल १६९ औं स्थानमा छन् ।
यसअघि नेपाल र यमनले दुई पटक हेड–टु–हेड खेलिसकेका छन । सन् २००० मा कुवेतमा भएको एशियन कप छनोट खेलमा नेपाल ३–० ले पराजित भएको थियो भने सन् २०१४ मा दोहामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २–० को हार व्यहोरेको थियो ।
नेपाली टिमलाई लेफ्ट–व्याक रविन श्रेष्ठ र डिफेन्सिभ मिडफिल्डर बिक्रम राईको अभाव खट्कनेछ । रविन घुँडाको शल्यक्रियाका कारण र बिक्रम फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएका कारण खेल्न पाउने छैनन् ।
यद्यपि मुख्य प्रशिक्षक ग्यातोकु कोजीले यमनसँगको खेलका लागि २३ सदस्यीय टिममा पूर्व कम्तान अनिल गुरुङ, मिडफिल्डर सुनिल बल, राजेन्द्र रावल, डिफेन्डर मनबहादुर तामाङ, दनेश राजवंशीलाई टिममा फर्काएका छन् ।
विराज महर्जनको नेतृत्वमा बाँकी खेलाडीहरू विमल घर्तीमगर, नवयुग श्रेष्ठ, हेमन्त गुरुङ, भरत खवास, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, सुजल श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र गोलकिपर किरण चेम्जोङ र विकेश कोथु छन् ।
भारतसँगको मैत्रीपूर्ण खेलमा आफ्नो टिमबाट भएका गल्ती सुधार गर्दै यमनसँग जीतका लागि खेल्ने कप्तान विराज महर्जनले बताएका छन् । विराज भन्छन, “डिफेन्समा हामी कमजोर छैनौं, मिडफिल्ड र अग्रपंक्तिमा तालमेल मिलाएर नतिजा आफ्नो पक्षमा पार्न प्रशिक्षकको योजनाअनुसारको खेल्दै छौं ।”
हल्चोक रंगशालामा कम सिट क्षमताका कारण घरेलु टिमले एक हजार दर्शकको मात्र हुटिङ पाउनेछ ।