कला/साहित्यमंगलवार, जेठ ३०, २०७४

हीरक जयन्तीमा प्रज्ञा–प्रतिष्ठान

मस्त केसी

राजनीतिक कालखण्ड अनुसारको आरोह–अवरोहसँगै बजेट अभाव झेल्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठान आफ्नो ६०औं वार्षिकोत्सवलाई सम्झनलायक बनाउने प्रयासमा छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान भवन । तस्वीरः गोपेन राई

नेपाली भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण र मौलिक सिर्जनाको वातावरण बनाउन असार २०१४ मा स्थापित ‘नेपाली साहित्य, कला एकेडेमी’ अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको रुपमा आफ्नो हीरक महोत्सवमा छ । २०३१ सालमा ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ बनेको एकेडेमी २०६४ मा देशले गणतन्त्र अंगीकार गरेसँगै ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ बनेको थियो । शासन प्रणाली र शासकहरूको इच्छानुसार नाम फेरिंदै आएको यो संस्थाका उद्देश्य भने जन्मकालको जस्तै छ ।

६०औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले दर्शन सम्मेलन र वाङ्मय सङ्गोष्ठीदेखि अनुसन्धानमूलक पुस्तक प्रकाशन, विविध साहित्यिक कार्यक्रम र विशिष्ट प्रतिभाहरूलाई सम्मानसम्मका कार्यक्रमहरू गरेको छ ।

आफ्नो हीरक जयन्तीलाई उपलब्धिमूलक बनाउन चाहेको प्रतिष्ठानले विदेशका विभिन्न संघ–संस्था र विश्वविद्यालयसँगको सहकार्यमा पनि आफ्ना गतिविधिलाई अगाडि बढायो । त्यसकै एक उदाहरण हो– माल्टा विश्वविद्यालयसँग मिलेर गत ४ पुसमा आयोजित अन्तर्राष्ट्रिय दर्शन सम्मेलन, जसलाई कुलपति गंगाप्रसाद उप्रेती ऐतिहासिक काम भन्छन् । सम्मेलनले नेपाल पूर्वीय दर्शनको एउटा केन्द्र भएको तथ्यलाई अन्तर्राष्ट्रियकरण गरेको उनको भनाइ छ । सम्मेलनमा नेपाल, माल्टा, अमेरिका, ग्रीस, इन्डोनेशिया, चीन, स्पेन, क्यानडा, युक्रेन र भारतका दर्शनशास्त्रीहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै, ६–८ जेठमा आयोजित वाङ्मय सङ्गोष्ठीमा नेपाली भाषाको आधुनिकीकरणका प्रमुख आयाम, नेपालमा बोलिने अन्य भाषाहरूको संवैधानिक स्थिति, समकालीन नेपाली आख्यानमा राजनीति, भारतीय नेपाली साहित्यलगायतका विषयमा बृहत् विमर्श भयो । सङ्गोष्ठीमा भारतको सिक्किम, दार्जीलिङ, तेजपुर, आसामलगायत स्थानका नेपाली साहित्यकार आमन्त्रित थिए । त्यस अवसरमा १० जना वाङ्मयसेवीलाई विशिष्ट सम्मान गरियो । हीरक महोत्सवकै अवसरमा प्रतिष्ठानको इतिहास ‘गौरवमय ६० वर्ष’ प्रकाशन गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्रदेव गिरी बताउँछन् । “वार्षिकोत्सवको अवसरमा मैथिली–नेपाली–अङ्ग्रेजी शब्दकोश, तामाङ व्याकरणलगायत तीन दर्जन अनुसन्धानमूलक पुस्तक प्रकाशन गर्दैछौं” उनी भन्छन्, “नियमित अन्तर्राष्ट्रिय सङ्गोष्ठी र सार्क मुलुकमा कार्यक्रम गर्ने योजना पनि बनेको छ ।”

नेपाली व्याकरण सम्बन्धी गलत निर्णय गरेर आलोचित बनेको प्रज्ञा प्रतिष्ठानले आगामी दिनका लागि कामहरूको स्पष्ट खाका तयार पारेको छ । भाषा, संस्कृति, साहित्यको संरक्षण–प्रवद्र्धनमा प्रविधि प्रयोगलाई जोड दिइरहेको प्रतिष्ठानले आफ्नै परिसरमा निर्माण भएको नयाँ भवनमा ई–पुस्तकालय स्थापना गर्न लागेको छ । भवनको तल्लो तलामा अत्याधुनिक प्रेस सञ्चालन गर्ने योजना छ । प्रतिष्ठान अब प्रादेशिक संरचनाअनुसार अगाडि बढ्ने योजनामा छ र त्यसका लागि शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । त्यसको लागि पर्याप्त बजेट भने छैन ।

चालू आर्थिक वर्षमा प्रतिष्ठानको बजेट रु.१५ करोड छ । यसमध्ये रु.११ करोड ३० लाख सरकारले दिएको छ, बाँकी आन्तरिकबाटै जोहो गर्नुपर्छ । आगामी आवका लागि सरकारले प्रतिष्ठानलाई रु.१२ करोड विनियोजन गरेको छ । प्रतिष्ठानले बनाएका योजनाहरू अगाडि बढाउन बजेट जहिल्यै अपर्याप्त रहेको सदस्यसचिव गिरी बताउँछन् । “११ वटा विभागलाई रु.७ लाख ५० हजारभन्दा बढी दिन सकिएको छैन” उनी भन्छन्, “अनुसन्धानलगायत कामका लागि यति पैसा केही पनि होइन ।”

उनी भाषा, साहित्य, संस्कृति, दर्शन, समाजशास्त्रलगायतका विषयमा प्रतिष्ठानप्रति सबैको आकांक्षा बढे पनि सीमित बजेटका कारण त्यसअनुसार कार्यक्रम संचालन गर्न कठिन भएको बताउँछन् । यी यस्ता विषय हुन्, जसमा भएका कामले मुलुकलाई एकताबद्ध पार्न सघाउँछ । तर, कार्यक्रमहरू भए पनि बजेट अभावले हुनुपर्ने जति काम नभएको सदस्यसचिव गिरी बताउँछन् ।

प्रतिकृया दिनुहोस