ऋण सम्झौतामा हस्ताक्षर, वाइड बडी जहाज खरिद गर्दै निगम
नेपाल वायु सेवा निगम र नागरिक लगानी कोषबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
आज भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार लगानी कोषले जहाज खरिदका लागि निगमलाई रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ ।
लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर ९ प्रतिशत रहनेछ । कोषले उपलब्ध गराएको रकमबाट निगमले वाइड बडी (ए ३३०–२००) सिरिजको जहाज खरिद गर्नेछ । वायु सेवा निगमले अमेरिकी कम्पनी एएआरसँग दुई जहाज खरिद गर्दैछ ।
निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय ध्वजावाहकको उपस्थिति देखाउने र आर्थिक समृद्धिको ढोका खोल्ने लक्ष्यका साथ रु २४ अर्ब लगानी गर्न लागेको छ ।
निगमले गत ४ फागुनमा एएआरलाई १० लाख अमेरिकी डलर बैना बापतको रकम उपलब्ध गराइसकेको छ । निगमले २८० सिट क्षमताका दुई जहाज ल्याउने तयारी गरेको छ ।