प्रत्येक स्थानीय तहमा बैङ्क खोल्न विकास समितिको निर्देशन
व्यवस्थापिका–संसद् अन्तर्गतको विकास समितिले प्रत्येक स्थानीय तहमा बैङ्कको शाखा खोल्न निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको बैठकले सबै स्थानीय तहमा ‘क’ वर्गको वाणिज्य बैङ्कको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको हो ।
७४४ मध्ये हालसम्म ३९२ स्थानीय तहमा मात्र बैङ्कको शाखा रहेको सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय तहलाई दिइएका काम, कर्तव्य र अधिकार कार्यान्वयन गराउन आवश्यक खर्चको व्यवस्था गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा समिति सभापति रवीन्द्र अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारका सूचीको खाका तयार पार्न सरकार, राष्ट्रिय योजना आयोग र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
मुख्यसचिव डा. सोमलाल सुवेदीले स्थानीय तहलाई दिइएका अधिकार कार्यान्वयन हुन नसके अधिकार केन्द्रमा फर्कने खतरा भएकाले सतर्क भएर काम गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।