न्यायाधीश सुरेन्द्र बस्नेतको पुनर्बहाली, विस्तृत जन्म मितिलाई मान्यता
सर्वोच्च अदालतले उमेर हदका कारण अवकाश पाएका न्यायाधीश सुरेन्द्रवीर सिंह बस्नेतलाई पुनःबहाली गरेको छ । न्यायाधीशद्धय दीपककुमार कार्की र सारदाप्रसाद घिमिरेको संयुक्त इजलासले २८ जेठमा बस्नेतलाई पुनःबहाली गर्न परमादेश दिएको हो ।
इजलासले बस्नेतको शैक्षिक प्रमाणपत्र र वैयक्तिक विवरणमा उल्लेखित जन्म मिति १९ असार २०११ लाई मान्यता दिँदै यस्तो आदेश दिएको हो । १८ फागुन २०२८ मा लिएको नागरिकतामा उनको उमेर १८ वर्ष उल्लेख छ ।
न्याय परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीशले १ पुस २०७३ मा बस्नेतको जन्म मिति १८ फागुन २०१० कायम गरेको थियो । यो निर्णयलाई न्याय परिषद् ऐन, २०७३ को दफा ३१ को उपदफा ६ अनुसार बदर गरिएको आदेशमा उल्लेख छ ।