ब्लगआइतवार, जेठ २८, २०७४

सडकमा झरेको चश्मा

रुपा जोशी

सडक विस्तारले भएका फूटपाथ पनि मासिए, साँघुरिए। हिंड्ने बाटो बन्द गरेर सरकार उल्टै जनतासँग रु.२०० जरिवाना असुलिरहेको छ ।

जिब्रा क्रसिङको बीचमा लडेर पनि, आफूलाई त्यस्तो ठूलो चोट नलागेको पाउँदा, मेरो मनमा सबैभन्दा पहिले आएको विचार थियो “ओहो ! मान्छेको ज्यान त फिटिक्कैमै जान सक्दो रै’छ !” मेरो सट्टा सानो बालक या वृद्धवृद्धा भएको भए ? या गर्भवती भएको भए, के हुन्थ्यो होला ? अनिष्ट नै हुन्थ्यो होला ।

संयोगः ट्राफिक प्रहरीले जेवाकिङमा कारबाही अभियान चलाउँदा जथाभावी बाटो काट्ने ‘जेवाकरलाई मात्र हैन, जिब्रा क्रसिङमा नरोक्ने सवारी साधनलाई पनि कारबाही हुनुपर्छ’ भनेर ट्वीट गरेको साता दिन बित्न नपाउँदै जिब्रा क्रसिङमै बाइकको ठक्करबाट घाइते हुन पुगें ।

धेरै महीनापछि “अब त वजन घटाउन फेरि हिंड्न थाल्नुपर्‍यो” भनेर २५ जेठ म बिहान ६ बजे घरबाट टुँडिखेलतिर लम्केकी थिएँ । ५ मिनेटमा रत्नपार्कको बिजुली अड्डा अगाडिको जिब्रा क्रसिङमा पुगें । फाट्टफुट्ट गाडी र बाइकहरू थिए । म फूटपाथबाट जिब्रा क्रसिङमा झ्रें । अरू कति बटुवा थिए मसितै म सम्झ्न्न । एउटा नीलो गाडी नजिक आइरहेको थियो । टक्क रोकियो । मनमनै ओहो ! भनेर अगाडि हिंड्दै गएँ । आधा बाटो कटिसकेपछि एक्कासी मेरो तिघ्रामा ड्याम्म केले हान्यो । म लडें । देखें बाइक रहेछ । त्यो पनि लडेको थियो । वरपर पेट्रोल पोखिएको थियो । एकदम दुखिरहेको थियो । वरपरका मानिसहरू “के भयो ?” भन्दै मद्दत गर्न आए । मैले बाइकवालालाई “के गरेको ? जिब्रा क्रसिङमा यसरी हुत्तिएर आएको ?” भनें । उसले “मैले सक्दो ब्रेक लगाउन खोजेको थिएँ” भनेर जवाफ दियो ।

ऊ बाइक उठाएर छेउतिर लाग्दैथियो, मलाई कसले हो उठाइदिए । एकजनाले अगाडि बढ्दै गरेको बाइकको फोटो खिच्दै थिए । कसले हो चश्मा थमाइदिए मेरो हातमा । ‘धेरै चोट लागेको भए अस्पताल जाऊँ’ पनि भन्दै थिए । बाइक लागेकोतिर जान खोज्दैथिएँ, तर बाइक त अघि नै कुलेलम भइसकेको रहेछ । दुई जना भाइहरूले मलाई पुलिसलाई १०० मा फोन गर्न सुझए । मेरो फोनमा त्यो बाइकको फोटो सार्न खोजें । नसकेपछि त्यै फोनबाटै फोटो खिचें, धन्यवाद दिएँ, र ट्राफिक प्रहरीको खोजीमा रत्नपार्कतिर लागें । भेटें, नम्बर टिपाएँ । यसपालि चाहिं आकाशेपुलबाट बाटो काटें ।

घरतिर फर्कंदा विस्तारै सोच्दै, हिंड्दै गरें । के भयो ? म त नियम पालन गर्ने मान्छे । आफूले गाडी हाँक्दा, पछाडिका सवारीहरूलाई रिस नै उठे पनि जिब्रा क्रसिङमा बटुवालाई बाटो काट्न रोक्थें । ट्राफिक प्रहरीले जेवाकिङ (जथाभावी बाटो काट्ने) लाई कारबाहीको अभियान चलाउँदा मैले ट्वीटरमा ‘जेवाकरलाई मात्र हैन, जिब्रा क्रसिङमा नरोक्ने सवारी साधनलाई पनि जरिवाना हुनुपर्छ’ भनेरै ट्वीट गरें । जथाभावी बाटो काट्दा दुर्घटनामा परे बटुवाको दोष ठहरिनुपर्छ, अनि जिब्रा क्रसिङमा बटुवा बाटो काट्दा दुर्घटना भए सीधै सवारी चालकको दोष ठहरिनुपर्छ भनेर । आखिर आफैं परें त्यस्तो घटनामा !

के मैले अब हाम्रा जिब्रा क्रसिङहरू सुरक्षित छन् भनेर कम सतर्कता अपनाएँ होला त ? के ट्राफिक प्रहरीले नयाँ नियम लगाउनुअघि नागरिकमा जति सचेतना फैलाउनुपथ्र्याे त्यो गर्न चुकेको हो त ? सवारी चालकलाई सुशिक्षित बनाउन नसकेको हो त ? के त्यो बाइकवालाले जिब्रा क्रसिङनिर बटुवाहरू हुन्छन्, गति घटाउनुपर्छ भन्ने ज्ञान नै नपाई लाइसेन्स प्राप्त गरेको हो त ? एउटा सवारी साधन जिब्रा क्रसिङमा रोकिएको छ भने अवश्य कुनै कारणले रोकिएको छ, म पनि रोकिनुपर्छ भनेर नबुझेकै हौं त ? या बुझ्पचाएका हौं ?

सेतै फुलेको व्यक्तिलाई आफ्नो बाइकले ढालेपछि, गल्ती स्वीकारेर के मद्दत गर्नुपर्छ पनि नभनी टाप कस्न बाइकवालालाई केले प्रेरित गरेको हो ? अपराधबोध, डर या लाजले ? पैसा खर्च हुनेभयो भनेर या अत्तालिएर राम्ररी सोच्न नसकेकोले ?

मलाई लागेको, र अहिले सामाजिक सञ्जालमा पनि चलिरहेको कुरा चाहिं, काठमाडौंले पैदल यात्रुलाई प्राथमिकता पटक्कै दिएको छैन । गाडीको चाप बढ्यो भनेर आयात नियन्त्रण गर्ने, मास ट्रान्जिटलाई बढावा दिने, शहरलाई बटुवामैत्री बनाउन पहल गर्ने काम गरेन । पैदल यात्रुलाई चेपुवामा पारेर, गाडी गुड्ने बाटो नै फराकिलो पा¥यो । त्यसो गर्दा कि पेटी हटाइयो, कि झ्नै साँघुरो बनाइयो । त्यसैले पनि पैदल यात्रु असुरक्षित तरिकाले हिंड्न बाध्य भइरहेका छन् । जेवाकिङलाई नियन्त्रण त गर्नु नै थियो, तर फेरि पनि गाडीवालाभन्दा पैदल यात्रुलाई नै मार पर्ने गरी यो योजना ल्याइयो ।

दुर्घटना घटाउन चालिएको यो अभियान सुधार्न तत्काल केही कदम नचाले अरू दुर्घटना निम्त्याउने छ । सबैभन्दा पहिले त रेडियो र सामाजिक सञ्जालमार्फत सडक सुरक्षाबारे व्यापक प्रचारप्रसार गर्नुपर्‍यो । पर्याप्त जिब्रा क्रसिङहरू बनाउनुपर्‍यो, चिनिने हुनुपर्‍यो । राति पनि प्रष्ट देखिनुपर्‍यो । स्कूल र कलेजका विद्यार्थीमार्फत सडक सुरक्षाबारे सन्देश घरघरमा पुर्‍याउनुपर्‍यो । सवारी लाइसेन्स प्रदान गर्ने बेला चालकलाई सडक नियमबारे कडाइका साथ प्रशिक्षण दिनुपर्‍यो । कुनै नयाँ बाटोको योजना बनाउने, मर्मत गर्ने बेला सडक विभागले सडक सुरक्षाबारे घरदैलोमै सचेतना फैलाउनुपर्‍यो ।

घाइते तिघ्रो लिएर आराम गर्दै गर्दा मलाई झ्लझ्ली त्यो क्षणको याद आउँछ । म त बाँचें, कसो ! तर बसुन्धरामा जिब्रा क्रसिङमा ज्यान गुमाएकी महिला जस्तै कहिलेसम्म बटुवाहरूले ज्यान हत्केलामा राखेर बाटो काटिरहनुपर्ने हो ? लौ न !

प्रतिकृया दिनुहोस