टिप्पणीशनिवार, जेठ २७, २०७४

खस होइनन् खस राजा

वसन्त महर्जन

खस साम्राज्यका शासकहरूका सम्बन्धमा विभिन्न ऐतिहासिक स्रोतहरूले प्रकाश पारे पनि ती कस्ता थिए भन्ने थाहा नभइरहेको अवस्थामा एउटा मुहारचित्र पाइनु पनि महत्वपूर्ण कुरा भएको छ ।

रिपु मल्ल । तस्वीरहरुः बसन्त महर्जन

१२ औं शताब्दीमा स्थापित खस साम्राज्यका सबै राजा बौद्ध धर्ममा आस्था राख्थे। उनीहरूले बौद्ध धर्म संरक्षकको भूमिका पनि निर्वाह गरेको नेपाली र भारतीय स्रोतहरूबाट पुष्टि भएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तुलगायतका क्षेत्र खस साम्राज्यअन्तर्गत नै पर्थे। खस राजा रिपु मल्ल सम्वत् १२३४ (सन् १३१२) मा लुम्बिनी पुगेका थिए। उनले अशोक स्तम्भको माथिल्लो भागमा बौद्ध मन्त्र 'ॐ मणि पद्मे हुँ' सहित आफ्नो र जेठो छोरा राजकुमार संग्राम मल्लको नाम कुँदाएर लुम्बिनी भ्रमणको अभिलेखन गराएका थिए। 

कपिलवस्तुस्थित निग्लिहवाको अशोक स्तम्भमा पनि त्यस्तै अभिलेख पाइएको छ। रिपु मल्ल त्यही वर्ष काठमाडौं उपत्यका पुगेर विभिन्न बौद्ध स्थलमा पूजालगायतका गतिविधिमा सरिक भएका थिए। करीब दुई वर्ष मात्र राज्य गरेका उनले थुप्रै बौद्ध अभिलेख राखेको अनुमान गर्न सकिन्छ। सिंजाको सेरामा प्राप्त एक अभिलेखअनुसार उनले 'लघुरत्नत्रय' नामक बौद्धग्रन्थ पनि लेखेका थिए। तिनै रिपु मल्लको मुहारचित्र भएको पौभाः (थांका) पाइएको छ, जसमा श्वेतताराका नामले प्रसिद्ध एक बौद्ध देवीको दायाँबायाँ दुई पुरुष विनीत भावमा उपासकका रूपमा बसेका देखिन्छन्।

तिब्बेतियन आर्ट अफ द एँलो बोंर्दे फाउन्डेसन नामक पुस्तकमा प्रकाशित पौभाःको तल्लो किनारमा रञ्जना लिपिमा 'श्रीरिपुमल्लश्चिरंजयतु' लेखिएबाट यी राजा रिपु मल्ल नै हुन् भनेर बुझ्न सकिएको हो। बायाँतिरको तुलनामा दायाँपट्टिका पुरुष पाको देखिएबाट राजा रिपु मल्ल यिनै हुन् भनी अनुमान गर्न सकिन्छ। दुवै पुरुष राजकीय भेषभूषामा छन्। पुस्तकका लेखकद्वय उलरिच भोन स्क्रोडर र हैडी भोन स्क्रोडरले बायाँतिरको मुहारचित्र संग्राम मल्लको हुनसक्ने अनुमान गरे पनि त्यसको आधार दिएका छैनन्।

प्रताप मल्ल राजा आदित्य मल्लका नाति हुन् भने यी खलकसँग रिपु मल्लको राम्रो सम्बन्ध देखिंदैन। आफ्नो शेषपछि जेठो छोरालाई राजा बनाउन चाहनु स्वाभाविक हो र यो चाहनाको अनुमान लुम्बिनीको अभिलेखमा अभिव्यक्त हुन्छ। त्यसकारण, श्वेतताराको पौभाःमा देखिएको अर्को मुहारचित्र अरू कसैको नभई रिपु मल्लका जेठो छोरा संग्रामकै हुनुपर्छ।

खस राजाहरूको अभिजन को हुन् भन्ने बहस लामो समयदेखि हुँदै आएको छ। खस जातिका मानिस नै तिब्बतको ङारी प्रदेशमा पुगेर राजगद्दी हत्याउन सफल भएको र पुनः खसान क्षेत्रमा फर्केको विचार बोक्ने एक थरी छन् भने यी राजाहरू खस मूलका नभएर तिब्बती हुन् भन्ने अर्को थरी धारणा छ। यो अवस्थामा उल्लिखित पौभाःले खस राजाहरूको अभिजनबारे विचार गर्न थप आधार दिएको छ ।

खस समाजमा पुरुषले चुल्ठो बाट्ने चलन छैन, तर पौभाःमा रिपु मल्ल र संग्राम मल्ल दुवैको चुल्ठो देखिन्छ। उनीहरूको चुल्ठोले तिब्बती शैलीको झलक दिन्छ। त्यस्तै, खस जातिका पुरुषहरूको जुँगा बाक्लो र लामो हुन्छ भने तिब्बती मूलका पुरुषको दाह्रीजुंगा कम वा पातलो हुन्छ। रिपु मल्ल र संग्राम मल्ल दुवैको जुँगाको मध्यभाग खाली देखिन्छ। दुवैतिर चुच्चो परेका थोरै मात्र जुँगा देखिन्छ, दुवैको। दाह्री पनि निकै पातलो छ। खसहरूको अनुहार लाम्चो हुन्छ, तर पौभाःमा चित्रित दुवै अनुहार मंगोल आकृतिका छन्। यसबाट खस राजाहरू तिब्बती मूलका हुन् भन्ने सिद्ध हुन्छ। 

तिब्बतमा पौभाः (थांका) को रंग अलि चम्किलो हुन्छ भने काठमाडौंका कलाकारहरूले हल्का रंग प्रयोग गर्छन्। रिपु मल्लको यो पौभाः काठमाडौंका नेवार कलाकारले सिर्जना गरेको देखिन्छ, तर संकलकले यसलाई तिब्बती कलाअन्तर्गत राखेका छन्।

खस समाजमा सैनिकलाई पैकेला भनिन्छ। खसान क्षेत्रका वीरखम्बलगायतमा हिजोआज पनि पैकेलाका स–साना मूर्तिहरू देख्न पाइन्छ, भेषभूषाका साथ। दैलेखको शिरस्थानस्थित ज्वालाको बायाँपट्टि कुनै राजपुरुषको मूर्ति छ। संभवतः यी खस साम्राज्य विघटन भइसकेपछिका कुनै राजपुरुष हुन्। यसले पौभाःमा रहेका दुई पुरुषको बान्कीसँग सादृश्यता राख्दैन। पैकेलाहरू पछिसम्म पनि एउटै जातीय समुदायका रहे भने राजाहरू भिन्न समुदायको हुँदा यस्तो फरक पर्न गएको बुझ्न सकिन्छ।

पौभाः चित्रका दुई मुहारचित्रबाट खसान क्षेत्रमा राज्य गर्ने चल्ल र मल्ल राजाहरू खस जातिका नभएको तर खस जाति वा खसान क्षेत्रका राजा भएको अर्थमा खस राजा, खसिया राजा (काठमाडौं स्रोत) र यात्से ग्याल्बो (तिब्बती स्रोत) भनिएको बुझ्न सकिन्छ। खस साम्राज्यको विघटनपछि यो वंश हालको खस जातीय समुदायमा विलय भएको बुझिन्छ।

प्रतिकृया दिनुहोस