टिप्पणीशनिवार, जेठ २७, २०७४

महीनावारीमा समस्या

डा. सुमनराज ताम्राकार

प्राइमरी र सेकेण्डरी एमेनोरियामा किशोरी वा महिलाको शारीरिक परिपक्वता भइसकेर पनि महीनावारी हुँदैन ।

महीनावारी शुरू हुनु बालिकाबाट किशोरी अवस्थामा प्रवेशको संकेतमध्ये प्रमुख हो। कतिपय किशोरीको भने महीनावारी नै हुँदैन। किशोरी अवस्थामा महीनावारी शुरू भएर त्यसपछि नियमित रूपमा हुनका लागि स्त्री/महिलाको वंशाणुअंश (क्रोमोजोम), टाउको भित्रको हाइपोथालामसदेखि पिट्युटरी ग्रन्थी एवं डिम्बाशयसम्मको कामगराइ, पाठेघरको भित्री तह र मुख, योनीमार्गको बनावट एवं महीनावारी हुने प्रक्रियालाई सघाउने थाइरोइड र एड्रिनल ग्रन्थीको कामगराइ सामान्य हुनुपर्छ। 

हाइपोथालामसदेखि डिम्बाशयसम्मको कामगराइ, वंशाणुअंशमा गडबडी, योनीमार्ग तथा जननेन्द्रियको माथिल्लो भागको बनावटमा जन्मजात खराबी, थाइरोइड तथा एड्रिनल ग्रन्थीको कामगराइमा खराबी, जननेन्द्रियको क्षयरोग, कुपोषण, अधिक दुब्लोपना, रक्तअल्पता आदिका कारण पनि महीनावारी शुरू नहुन सक्छ।

किशोरी अवस्थामा योनीद्वारमा तेर्सो गरी बाक्लो झिल्ली रहेको वा योनीमार्गको माथिल्लो भाग वा पाठेघरको मुख साँघुरिएको छ भने चाहिं मासिक स्राव भए पनि बाहिर देखिंदैन। यो अवस्थालाई मेडिकल भाषामा 'क्रिप्टोमेनोरिया' भनिन्छ। यस्तो समस्या भएकी किशोरीमा महीनावारी भएताका तल्लो पेट बेस्सरी दुख्छ। यो समस्यालाई सामान्य शल्यक्रिया वा योनीमार्गको पुनर्संरचना शल्यक्रिया गरेर हटाउन सकिन्छ।

किशोरीको उमेर १६ वर्ष पुगिसक्यो, सबै शारीरिक विकास भइसक्यो र पनि महीनावारी शुरू नहुनुलाई राम्रो लक्षण मानिंदैन। यस्तो अवस्थालाई मेडिकल भाषामा 'प्राइमरी एमेनोरिया' भनिन्छ। यस्तो स्वास्थ्य समस्याको सामान्य कुराकानीबाटै पनि पूर्वानुमान/पहिचान गर्न सकिन्छ। त्यसैले, एकैपटक खर्चालु परीक्षणहरू भन्दा अनुमानित कारक तत्व केन्द्रित सीमित परीक्षण गर्नु राम्रो हुन्छ।

सामान्य हिसाबले महीनावारी भइसकेका किशोरी वा महिलाहरूमा पनि कुनै कारणवश ६ महीना वा त्यसभन्दा बढी समय महीनावारी नहुन सक्छ। त्यो अवस्थालाई 'सेकेण्डरी एमेनोरिया' भनिन्छ। पाठेघरको भित्री तह टाँसिन गएको, क्षयरोग भएको, लेजर वा शल्यक्रियाबाट पाठेघरको भित्री तह बढी खुर्किएको, स–साना तर धेरै अपरिपक्व अण्डा बढ्ने समस्या भएको, समयअगावै (४० वर्षअगावै) डिम्बाशयले काम गर्न छाडेको, शरीरमा इस्ट्रोजेन हर्मोनको मात्रा चाहिने भन्दा कम भएको, सुत्केरी हुँदा बढ्ता रक्तस्राव भएको एवं मानसिक तनाव, कुपोषण, मधुमेह, अधिक मोटो वा दुब्लोपना, मनोद्दीपक औषधि सेवन गरेको, थाइरोइड ग्रन्थीको काम कम भएको अवस्थामा पनि सेकेण्डरी प्रकारको महीनावारी रोकिने हुनसक्छ।

यी कारण खुट्याउनु अघि किशोरी वा महिला गर्भवती हो/होइन सर्वप्रथम जाँच्नुपर्छ। भिडियो एक्सरे (अल्ट्रासाउण्ड), ल्याप्रोस्कोपी (पेटमा दुई तीन वटा प्वाल पारी दूरबिन छिराई पाठेघरको वरपरको समस्या पत्ता लगाउने आधुनिक प्रविधि) र रगतमा हर्मोनको मात्रा जाँचबाट अधिकांश कारण पत्ता लगाउन सकिन्छ। यसको अलावा कहिलेकाहीं क्रोमोजोम, टाउकोको एक्सरे, ग्रन्थीरस सम्बन्धी रगत जाँच, टाउकोको सीटीस्क्यान पनि आवश्यक पर्न सक्छ। समस्या पहिचानका यी आधुनिक विधि सम्बन्धी निर्णय गर्दा प्रभावित किशोरी/महिलासँग मानसिक तनाव हुने खालको घटना, शारीरिक तौलमा एक्कासी कुनै परिवर्तन, डण्डीफोर, रौं बढी पलाउने, स्वरमा परिवर्तन, स्तनबाट असामान्य स्राव, टाउको दुख्ने, आँखा धमिलो हुने आदि समस्या भए/नभएको बारे पनि पर्याप्त सोधपुछ गर्नुपर्छ।

यस्ता खाले बिरामीको उपचार चरणबद्ध रूपमा गर्नुपर्छ। जाँच पड्ताल पछि एमेनोरिया सम्बन्धी कुनै गम्भीर समस्या नभएको ठहर भए शुरूमा इस्ट्रोजेन र त्यसपछि प्रोजेस्टेरोन हर्मोनयुक्त औषधि प्रयोग गरेर महीनावारी खुल्छ, खुल्दैन हेर्नुपर्छ। यो विधिबाट पनि महीनावारी भएन भने समस्या गम्भीर छ भनेर बुझनुपर्छ।

उपचारको क्रममा सामान्य समस्याको लागि मानसिक तनाव हटाउने परामर्श, इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन दुवै भएको पिल्स चक्की वा इस्ट्रोजेन मात्र भएको औषधि दिनुपर्छ। सेकेण्डरी एमेनोरिया हुनुको कुनै ठोस कारण छ भने सोही अनुसार उपचार गर्नुपर्छ। स–साना तर परिपक्व डिम्ब बढ्ने, रगतमा प्रोल्याक्टिनको मात्रा बढ्ता हुने, समय अगावै डिम्बाशयले काम गर्न छोड्ने आदिका लागि कारण अनुसार नै उपचार गर्नुपर्छ। एमेनोरिया हुनाको कारण डिम्बाशयको ट्युमर, पाठेघरको भित्री तह टाँसिने, स–साना अपरिपक्व डिम्ब बढ्ने, पिट्युटरी ग्रन्थीको ठूलो ट्युमर भए औषधिबाट भन्दा शल्यक्रियाजन्य उपचार गर्नु राम्रो हुन्छ।

कारण नखुट्टिने प्राइमरी भन्दा सेकेण्डरी प्रकारको एमेनोरियाका लागि सामान्य जाँच–पड्ताल र कारण अनुसार उपचार गरेको खण्डमा अपेक्षाकृत राम्रो नतीजा पाइन्छ। करीब ६० प्रतिशतमा विना उपचार जाँच–पड्तालकै क्रममा महीनावारी शुरू भइसक्छ ।

प्रतिकृया दिनुहोस