समाचारशुक्रवार, जेठ २६, २०७४

'पहाडिया गए, व्यापार पनि गयो'

मुकेश पोखरेल

पहाडी समुदायको विस्थापनले जनकपुरको व्यापार–व्यवसाय घटेको छ।

थकाली खाना र मःमका लागि पूरै जनकपुरमा चर्चित थियो– जनकचोकस्थित रुफटप रेस्टुरेन्ट। तर, जसै २०६४ सालको मधेश आन्दोलन चर्कन थाल्यो जनकपुरबाट पहाडी समुदायका मानिस विस्तारै विस्थापित हुन थाले। रेस्टुरेन्टका कुकले पनि त्यही मेलोमा जनकपुर छाडे।

जनकपुरस्थित एक कपडा पसल।

त्यसयता रेस्टुरेन्टमा थकाली खाना र मःमको स्वाद पाइन छाडेको छ। व्यापार स्वाट्टै घटेको छ। “थकाली खाना र मःम बनाउने नै पहाडिया हुन्, यताकाले सही स्वादको बनाउनै सक्दैनन्” रेस्टुरेन्टका सञ्चालक धर्मेन्द्र साह भन्छन्, “धेरैलाई ल्याउने प्रयास गरें तर कोही आउन तयार छैनन्।” रेस्टुरेन्टमा पहिलेका कुक नवराज कार्की अहिले इटहरीमा आफ्नै रेस्टुरेन्ट चलाएर बसेका छन्।

'पहाडिया गए, व्यापार पनि गयो', जनकपुरका सामान्य व्यापारीदेखि सुन पसले र ठूला कपडा व्यापारी सबैको अनुभव साहको जस्तै छ। उद्योग वाणिज्य संघ, जनकपुरका पूर्व अध्यक्ष निर्मल चौधरी जनकपुरबाट पहाडी समुदायको विस्थापनपछि व्यापारको रौनक नै घटेको बताउँछन्। “धेरै व्यापारी साथीहरू पहाडी समुदायको विस्थापनसँगै व्यापार नभएको र चहलपहल घटेको बताउँछन्”, उनी भन्छन्।

कपडा व्यापारी रामबाबु गुप्ताले दशैं, तिहार र तीजका बेला पसलमा हुने भीडभाड नदेखेको धेरै भयो। उनी भन्छन्, “पहिले बजारमा रंग थियो, अचेल फिक्का लाग्न थालेको छ।”

रेस्टुरेन्ट सञ्चालक धर्मेन्द्र साह।

जनकपुर सुन–चाँदी व्यवसायी संघका उपाध्यक्ष एवं न्यू महालक्ष्मी ज्वेलर्सका सञ्चालक पवन ठाकुर अहिले आफ्नो व्यापार आधा कम भएको बताउँछन्। उनका भनाइमा गहनाका नयाँ–नयाँ डिजाइन आउँदा पहाडी समुदायका महिलाहरू फेरी–फेरी प्रयोग गर्दथे।

“प्रत्येक तीन–तीन महीनामा गहनाको नयाँ डिजाइन आउँथ्यो, अहिले पनि डिजाइन त आउँछ तर ग्राहक छैनन्” ठाकुर सम्झ्न्छन्। उनका अनुसार, आन्दोलनका बेला करीब ३०० पहाडी समुदायका परिवारले जनकपुर छाडेका थिए।

विस्थापन रोक्न पहल
संविधान जारी भएलगत्तै कात्तिक २०७२ मा पिडारीचोकमा यस्तै घटना भयो। त्यहाँका पहाडी समुदायका दुई परिवारलाई आफूलाई मधेशी बताउने समूहले धम्क्याइरहेको थाहा पाएपछि जनकपुर यूथ डेभलपमेन्ट फोर्सको अगुवाइमा युवा समूह त्यहाँ पुग्यो। र, घटना साम्य भयो। त्यसपछि ती युवाहरूले कसैले धम्क्याइहाले तत्काल फोन गर्न आफ्नो मोबाइल नम्बरहरूसमेत दिए।

फोर्सका सरोज मिश्र केही जग्गाका कारोबारी र प्रशासनको मिलेमतोमा पहाडी समुदायलाई विस्थापित हुन बाध्य पारिएको बताउँछन्। “अहिले जनकपुरले त्यसैको घाटा बेहोरिरहेको छ”, उनी भन्छन्।

पहाडी समुदायको विस्थापनपछि परेको आर्थिक–सामाजिक असर बेहोरेका जनकपुरका केही युवाले थप पहाडी समुदायलाई जिल्ला छाड्न नदिन अभियान नै शुरू गरेका छन्। 'पहाडे मधिशे होइन, हामी नेपाली' भन्दै र्‍याली तथा अन्तरक्रिया कार्यक्रमसमेत हुन थालेका छन्।

स्थानीय महावीर युवा कमिटीका अध्यक्षसमेत रहेका धर्मेन्द्र साह २०६४ सालको जस्तो घटना हुन नदिन सचेततापूर्वक अभियान चलाएको बताउँछन्।

 

प्रतिकृया दिनुहोस