पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन
नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष अनुप तिवारी माथि दुर्व्यवहार गर्नेहरुलाई कारबाहीको माग गर्दै आज वीरगञ्जमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।
दोषी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको भएपनि प्रहरी–प्रशासनले कारबाहीका लागि चासो नदिएको भन्दै महासंघ पर्सा शाखाको आह्वानमा शुक्रबार बिहान विरोध र्याली निकालिएको छ ।
समाचार लेखेकै विषयलाई लिएर गत सोमबार, २२ जेठ बेलुका महासंघ शाखा उपाध्यक्ष तिवारी माथि केहि व्यक्तिहरुले मोबिल छ्यापेर दुर्व्यवहार गरेका थिए ।
पत्रकार तिवारीले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएको भएपनि प्रहरीले शुक्रबार विहानसम्म कसैलाई पक्रेको छैन् ।
आज बिहान निकालिएको विरोध र्यालीपछि घण्टाघरमा भएको सभामा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले दोषीलाई पक्राउ गरी कारबाही नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सुरेश विडारी, वीरगञ्ज