तिलिचो पुगेर राजदूत रे ले भने, ‘स्वर्गको टुक्रा’
भारतीय राजदूत रञ्जित रे हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल पुगेर फर्किएका छन् ।
मनाङको ५ दिने भ्रमण गरेका रेले नेपाल प्राकृतिक स्रोत, सम्पदा र सौन्दर्यको अनुपम स्थान रहेको भन्दै रेले थपे, “नेपालमा प्राकृतिक सम्पदा धेरै छन्, तर तिनको उपयोग हुन सकेको छैन, पर्यटनबाट मात्रै नेपाललाई सम्बृद्ध बनाउन सकिन्छ ।”
हेलिकप्टर मार्फत राजदूत रे र मनाङबाट निर्वाचित साँसद एवं पूर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङ मनाङ पुगेका थिए ।
समुन्द्री सतहबाट ४ हजार ९१९ मिटरको उचाईमा रहेको उक्त तालमा पुगेपछि राजदूत रेले भने, ‘स्वर्गको टुक्रा’ ।
गत शुक्रबार मनाङ पुगेका रेले ५ दिने भ्रमणका अवसरमा खाङ्सार गाविसस्थित तरे गुम्बा, भ्राकास्थित भ्राका गुम्बा, टंकी मनाङस्थित टंकी गुम्बा र मनाङ गाउँस्थित पोचो गुम्बाको भ्रमण गरे ।
गुम्बाको शिलन्यास
राजदूत रे ले तिलिचाबाट फर्किएपछि खाङ्सार गाविसमा रहेको तरे गुम्बाको शिलन्यास गरेका छन् ।
गुम्बा भारतीय दूताबासको सहयोगमा निर्माण हुन लागेको हो ।
मनाङ् भ्रमणपछि राजदूत रे काठमाडौं फर्किसकेका छन् ।
७ सय बर्ष पुरानो तरे गुम्बा भुकम्पका कारण क्षतिग्रस्त भएको थियो । गुम्बा भत्किएपछि यसको पुननिर्माणका लागि भारतीय राजदूतावासले चासो देखाएको गुरुङले जानकारी दिए ।
गुम्बाको शिलन्यास गर्दै राजदुत रे ले मनाङको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा सहयोग गर्ने बताएका छन् ।
रे को भ्रमणमा मनाङका पर्यटन ब्यवसायी विनोद गुरुङ, नेपाली कांग्रेस मनाङका महासमिति सदस्य चन्द्र घले, उपसभापति यज्ञप्रसाद घले, सचिव सुरेन्द्र गुरुङ, समाजसेवी छिरिङग्याल्पो लामा, सगर गुरुङ लगायत सँगै थिए ।
युवराज श्रेष्ठ, लमजुङ