टिप्पणीमंगलवार, जेठ २३, २०७४

राजनीतिमा अनपेक्षित गाँठो

मनिष झा

एकले अर्कोलाई धम्क्याउने, यो हुन दिन्न भन्ने प्रवृत्तिले हाम्रो साझा भविष्यलाई अनपेक्षित नियतितिर डोर्‍याएको छ ।

भारतले पर्यटन प्रवर्द्धनका निम्ति सन् २००२ मा 'इन्क्रेडिबल इन्डिया' अभियान चलाएको देख्दा मलाई नेपालबारे पनि यसरी नै छोटकरीमा बुझाउन कस्तो शब्दावली उपयुक्त होला भन्ने लागिरहन्थ्यो। त्यसरी सोच्दा मेरो दिमागमा आएको शब्द थियो– 'अनएक्सपेक्टेड नेपाल' अर्थात् 'अनपेक्षित नेपाल'। 

अहिले मलाई यो शब्द अझ् ठीक लाग्न थालेको छ। विदेशी पनि नेपाल आउँदा हिमाल, जंगल, कता–कता देखिने बस्ती र मुस्कानसहितको अनुहारको अपेक्षा गरेर आउँछन्, तर अनपेक्षित रूपमा घना बस्ती, गाडीको जाम र प्रदूषण लगायतका अनपेक्षित यथार्थहरूको सामना गरेर फर्कन्छन्। त्यसैले हाम्रो नेपाल अपेक्षा गर्न नसकिने देश हो।

विदेशीलाई थाहा छैन कि यो देशमा २० मिनेटको उडानमा अर्कै हावापानी र वातावरणमा पुगिन्छ। यहाँ आएर थाहा पाउनेहरू भन्छन् पनि कि यस्तो त अपेक्षा नै गरेको थिइनँ। विदेशी पर्यटकले नेपाल आएर अपेक्षा गरेको भन्दा फरक पाएँ भन्दै यहाँ रमाउने तरिकाहरू खोजेजस्तै हामी नेपाली पनि अपेक्षा गरेको भन्दा बिल्कुल अलग राजनीतिक परिवर्तनमा अभ्यस्त हुन खोजिरहेका छौं। समस्या के छ भने पर्यटकहरूले रमाउने विकल्प खोज्छन्, तर हामीलाई विद्यमान राजनीतिक हावापानीको विकल्प खोज्ने सुविधा छैन।

यहाँ राजनीतिक प्रयोग यति धेरै हुने गरेको छ कि यो देश कुन दिन, कता मोडिने हो स्वयम् देशको कार्यकारी र राष्ट्रप्रमुखलाई पनि पत्तो नहुँदो हो। लाग्छ, देशमा यस्तो अनपेक्षित नै अपेक्षित छ। अनपेक्षित हुनुसम्म त रोमाञ्चक नै हुन्छ होला, तर दुःखको कुरा यो छ कि यो नकारात्मक रूपमा अनपेक्षित छ।

एकातिर स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि विकासका नयाँ–नयाँ योजना घोषणा गर्न थालेका छन्, अर्कोतिर निर्वाचन हुने कि नहुने अन्योल छ। एकथरी अभियन्ताहरू मतदातालाई स्थानीय तह निर्वाचनको निम्तो दिन खेतको आलीमै पुगिरहेका छन्। कोदालो आलीमै फालेर चुनावको विरोधमा हिंड्न अर्कोथरीको निम्तो आउने गरेको छ। एकातिर आफ्नो मतको कदर होस् भनेर मतपेटिका ढोग्ने मतदाता छन् भने अर्कोतिर अरूको मतपत्र च्यातेर सत्यको लागि लडेको भन्नेहरू छन्।

दोस्रो चरणको निर्वाचनको चर्चा चुलिइरहेका बेला सबैको ध्यान र चिन्ता मधेशको अपेक्षा र त्यसको व्यवस्थापनमा केन्द्रित हुन पुगेको छ। यी दुवै यति अनपेक्षित हुन पुगेका छन्, के हुुने र कहाँ पुगेर त्यो टुंगिने हो कसैलाई थाहा छैन।

तीन दशकयता राजनीतिक दल र नेताहरूको बोलीवचन, व्यवहार र संस्कारमा नेपाली समाजको कुरुपता प्रतिबिम्बित भइरहेको छ। समाज र समुदायका हिस्साहरूलाई आ–आफ्नो राजनीतिक प्रतिनिधित्व गर्नेहरूबारे धेरै जानकारी हुँदैन र पनि उनीहरूले अर्को पक्षबाट अनपेक्षित व्यवहार खेप्नु परेको छ।

नेपाली समाज र सामाजिकता निकै शालीन–सभ्य भनेर चिनिएकै हो। नचिनेकाको शवयात्रामा जाँदा पनि तीन पटक ढोग्ने हामी नेपाली। कसैको मृत्यु भएको सुन्दा मन चसक्क हुन अझ्ै छाडेको छैन। तर, अहिले यही समाजको प्रतिनिधित्व गर्छु भन्नेहरूले क्रूरताको पूजा थालेका छन्। नत्र, आन्दोलन भन्ने चिज सधैं अनपेक्षित गाँठो कस्ने गलपासो मात्र बन्ने थिएन।

नेपालमा असमानता र भेदभाव नभएको भन्ने हुँदै हैन, राज्यसत्ताबाटै त्यो भयो। तर, अहिले आएर त्योभन्दा पनि गलत के भयो भने, जसलाई त्यो समस्या सुल्झाउने जिम्मेवारी स्वरुप प्रतिनिधित्वको अवसर दिइयो, उनीहरू पनि केवल आफ्नै लागि सोच्न व्यस्त भए। अहिले पनि सुल्झाउने प्रयास जारी छ, तर प्रक्रिया गलत भएकोले उल्टै बल्झिंदैछ।

आन्दोलनको सबभन्दा महत्वपूर्ण पक्ष त्यसको अजेन्डा हुन्छ। नेपालमा सात दशकमा जति राजनीतिक परिवर्तन भए, तीमध्ये कुनै पनि परिवर्तन सजिलो थिएन। त्यो जटिल प्रक्रिया यसकारण सफल भयो कि त्यसको मागमा स्पष्टता थियो। अनपेक्षित के भयो भने गन्तव्यमा पुग्नु अगावै त्यो स्पष्टता हरायो।

अहिलेका राजनीतिक अभियन्ताहरूले त्यस्तो स्पष्टता पहिल्याउनधरि सकेनन्। जस्तो, निर्वाचनकै कुरामा पनि मधेश विभाजित छ। निर्वाचन मधेशलाई धेरै चाहिएको मधेशकेन्द्रित दलहरूलाई झ्न् बढी थाहा छ, तर पनि अनपेक्षित रूपमा गाँठो झ्न् कसिंदैछ। कतिले आफ्नो अस्तित्व त्यही अनपेक्षित गाँठोमा देखेका छन्। गाँठोसहित आफ्नो अस्तित्व कायम राख्न खोज्ने चरित्र नेपाली राजनीतिमा धेरै दिनदेखि हावी छ।

कतिपय गैर–मधेशी राजनीतिज्ञको उग्र किसिमको बोली–व्यवहारले पनि मधेशको गाँठो कस्नमै सहयोग पुर्‍याएको छ। सबै आ–आफ्नो तुष्टि हुने हाँक दिइरहेका छन्, समाधान खोज्ने संवाद–मन्थन कोही गरिरहेको छैन। एकले अर्कोलाई धम्क्याउने, यो हुन दिन्छु या हुन दिन्नँ भन्ने, तर देश र जनताले के चाहेका छन् भन्ने बुझेर पनि बुझ्पचाउने प्रवृत्तिले हाम्रो साझा भविष्यलाई अनपेक्षित नियतितिर डोर्‍याएको छ।

प्रतिकृया दिनुहोस