रुखलाई अंकमाल गरेर संरक्षणको सन्देश
विश्व वातावरण दिवसको अवसरमा ‘रुख नकाटौं’ भन्ने सन्देश दिन वीरगञ्जमा बालबालिकाले सांकेतिक प्रदर्शन गरेका छन् ।
प्रकृति सेवा प्रतिष्ठान नेपाल वीरगञ्जको आयोजनामा भएको कार्यक्रममा बालबालिकाहरुले रुखलाई केहीबेरसम्म अंगालो मारे ।
रुखलाई काट्नु हुँदैन, मास्नुहुँदैन, संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन रुखलाई अंगालो मारिएको प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले बताए ।
“रुख हाम्रा लागि प्रिय छ, यसले हामीलाई अक्सिजन दिन्छ, वातावरण जोगाउँछ,” उनले भने, “त्यसैले यसलाई माया गर्नुपर्छ ।”
विश्व वातावरण दिवसकै पूर्वसंध्यामा वीरगञ्ज उपमहानगरपालिका कार्यालयले पनि वृक्षारोपण कार्यक्रम गरेको छ ।
वीरगञ्ज उपमहानगरपालिका कार्यालयले वीरगञ्जको मुख्य सडकमा वृक्षारोपण गरेको कार्यालयका योजना अधिकृत एवं सूचना अधिकारी प्रकाशमान अमात्यले जानकारी दिए ।
भारतीय महावाणिज्य दूतावासदेखि उत्तरतर्फ मुख्य सडकको बीच भागमा रहेको डिभाईडरमा ८७ वटा रुख रोपिएको उनले बताए ।
उक्त स्थानमा यसअघि रोपिएका रुख र बाँसको बार मधेश आन्दोलनको समयमा आन्दोलनकारीहरुले उखेलेर जलाएका थिए ।
सुरेश बिडारी, वीरगञ्ज