देउवाको पक्षमा मतदान गर्ने उपेन्द्र यादवको निर्णय
संघीय समाजवादी फोरम नेपालको संसदीय दलले प्रधानमन्त्री निर्वाचनमा शेरवहादुर देउवाकोे पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
फोरम नेपालको संसदीय दलका नेता अशोक राईको अध्यक्षमा बसेको बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको सचेतक डा. शिवजी यादवले जानकारी दिए ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री निर्वाचन पछि संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि फोरम नेपालले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको यादवले बताए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै देउवाले संघीय समाजवादी फोरम नेपाललाई पठाएको लिखित पत्रमा भनिएको छ,– ‘स्थानीय तहको प्रथम चरणको निर्वाचन भइसकेको वर्तमान अवस्थामा अब तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन गरि संविधान संशोधन लगायत राजनीतिक दलहरुको बीचमा भएको सहमतिलाई कार्यान्वयन गर्दै बाँकी सबै तहको निर्वाचन सम्पन्न गर्नु हाम्रो मुख्य राष्ट्रिय एजेन्डा हुने कुरा स्मरण गराउन चाहन्छु ।’
अध्यक्ष उपेन्द्र यादवले प्रतिकूल परिस्थितिमा स्थानीय तहको चुनावलाई पनि संघर्षको कार्यदिशा बनाएर अघि बढेको प्रतिक्रिया दिए ।