आफूले थालेका काम पूरा गर्नेबारे गगन थापाको चिन्ता
स्वास्थ्यमन्त्री गगन थापाले मुलुकको स्वास्थ्य क्षेत्रमा आफूले थालेका काम पूरा गर्नका लागि थप केही समय स्वस्थ्यमन्त्री नै रहने चाहना व्यक्त गरेका छन् ।
स्वास्थ्य मन्त्रालयबाट बिदा लिंदै गर्दा आज आयोजित पत्रकार सम्मेलनमा थापाले स्वास्थ्य क्षेत्र सुधारका लागि आफूले शुरु गरेका कतिपय कामहरु सम्पन्न गर्न थप केही समय आवश्यक रहेको बताएका हुन् ।
सञ्चारकर्मीले फेरि स्वास्थ्य मन्त्रालयमै फर्किने सम्भावना बारे सोधेपछि स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले गगन थापानै स्वास्थ्य मन्त्रीका रुपमा दोहोरिनुपर्ने बताएका थिए । त्यसपछि मन्त्री थापाले थप केही महिना मन्त्रालय सम्हाल्ने अवसर पाए आफूले थालेका सुधारका काम पूरा गर्न सकिने बताएका थिए ।
अब बन्ने नयाँ सरकारमा पनि आफू मन्त्री बन्न पाए स्वास्थ्य मन्त्रालय नै रोज्ने उनको भनाई थियो । यद्यपी यो पार्टी नेतृत्वले गर्ने निर्णय भएकोले आफू फेरि मन्त्री बन्ने नबन्ने निश्चित नभएको उनले बताए ।