यी हुन दमक नगरपालिकामा महिला उमेदवार
झापा जिल्लाका स्थानीय तहमा हालसम्म घोषित उमेदवारमध्ये कुनै पनि दलले महिलालाई प्रमुख पदमा उमेदवार बनाएका छैनन् ।
प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले महिलालाई उपप्रमुखमा मात्रै उमेदवार बनाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीको गृह नगर समेत रहेको दमकबाट एमालेले प्राध्यापक गीता अधिकारीलाई उपमेयरमा अघि सारेको छ । ५२ वर्षीया अधिकारी २७ बर्षदेखि दमक बहुमुखी क्याम्पसमा अर्थशास्त्र पढाइरहेकी छन् ।
जेसिज, रेडक्रस जस्ता संघसंस्थामा पनि संलग्न रहेकी उनी महिलालाई पुरुषको सहयोगीको रुपमा मात्र बुझिएको ‘अप्रिय तथ्य’ आफ्ना छोरीको पुस्ताले सामना गर्नु नपरोस भन्छिन् ।
महिला शिक्षामा विशेष जोड दिने अधिकारी नगरको सर्वाङ्गिण विकासमा योगदान दिने योजनाका साथ आफू उममेयरको उमेदवार भएको बताउँछिन् । रोजगारी र विकास उनको चुनावी नारा हो ।
नेपाली कांग्रेसले भने उद्यमी रेगिना भट्टराई लाई उपमेयरको उमेदवार बनाएको छ । ३९ वर्षीया भट्टराई दमक जेसिजकी पूर्व अध्यक्ष समेत हुन् ।
चप्पल र ल्युवआयल कारखानामा लगानी गरेकी उनी महिलाको उद्यमशीलता बढाउन जरुरी रहेको बताउँछिन् ।
आफू उपमेयर भएमा नगरको पूर्वाधार विकास गर्ने, रोजगारीको अवसर बढाउने साथै महिलालाई मूलधारमा ल्याउन हरसम्भव प्रयास गर्ने उनको प्रतिवद्धता छ ।
उनले बृद्धबृद्धालाई घरघरमा भत्ता पुर्याउने र सार्वजनिक सेवामा महिलाको प्रवेश बढाउन प्रयास गर्ने भन्दै भोट मागिरहेकी छन् ।
माओवादी केन्द्रबाट उपमेयरकी दाबेदार शान्ति धिमाल दमक– ७ को आदिवासी परिवारकी ‘दिदी’ हुन ।
४१ वर्षीया धिमाल राष्ट्रिय लघुउद्यम विकास कार्यक्रममार्फत धिमाल समुदायका महिलालाई परम्परागत धिमाल पहिरन पेटनी बुन्ने प्रशिक्षण समेत दिन्छिन् ।
दशकक्षा सम्म अध्ययन् गरेकी धिमाल भन्छिन्, “राजनीतिमा त विस्तारै लागियो तर भोट माग्दै हिडिएला भन्ने कुरो म कल्पना पनि गर्दिनथें ।” उपमेयर भएपछि नगरलाई सुन्दर र विकसित बनाउने उनको योजना छ ।
त्यस्तै राप्रपाले ४६ वर्षीया रीता श्रेष्ठलाई अघि सारेको छ । पार्टीको महिला
संगठनको अध्यक्षता गरिरहेकी उनी सुकुम्बासी र भूमिहिनलाई बसोबासको ब्यवस्था मिलाउने, महिलालाई शिक्षा र स्वरोगजारमा आकर्षित गर्ने लगायतका योजना सुनाँउदै मतदाताकहाँ गइरहेकी छन् ।
श्रेष्ठ भन्छिन्, “गरिखान सजिलो हुने गरी प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउनु मेरो प्राथमिकता हुनेछ ।”
दशवटा वडा रहेको दमकमा ४६ हजार पाँचसय २३ मतदाता छन् ।
१५ वटा स्थानिय तह रहेको झापामा कांग्रेस, एमाले, माओवादी र राप्रपाले मेयर र अध्यक्ष पदमा पुरुषलाई मात्रै टिकट दिएका छन् ।
केही गाँउ र नगरपालिकामा अझै उमेदारी टुंगो लागिसकेको छैन ।
१३१ वडा रहेको झापामा सबै वडाबाट एकजना दलित महिला र अर्की एकजना महिला पनि अनिवार्य निर्वाचित हुँदैछन् । यसले २७२ जना महिलालाई निर्वाचित गराउने अवस्था छ ।
एमालेबाट उपमेयरकीे उमेदवार गीता आँउदा दिनमा राजनीतिको मैदान महिलाका
लागि अझ सहज र खुला बन्ने अनुमान गर्छिन । “हामी जित्दैछौ, निर्वाचनपछि महिलाका लागि राजनीतिक मैदान अझ फराकिलो बन्नेछ,” उनले भनिन् ।
२०१८ सालमा गाँउ पञ्चायतको निर्वाचन भए यता हालसम्म झापामा दुईजना मात्र महिला गाँउ इकाईको प्रमुख बनेका थिए । अहिलेसम्म बुधबारेमा भागिरथा न्यौपाने र ज्यामिरगढीमा जोगमाया थापा प्रधानपञ्च निर्वाचित भएको इतिहास छ ।
२०४९ र २०५४ सालमा भएका दुवै स्थानीय निकाय निर्वाचनमा झापाका नगरपालिका र गाविसका अध्यक्ष उपाध्यक्षमा महिलाको उमेदवारी समेत परेको थिएन ।
अबको स्थानीय निकाय निर्वाचनपछि भने २७७ जना महिला निर्वाचित हुनेछन् ।
गोपाल गडतौला, झापा