ब्लगशनिवार, जेठ २०, २०७४

सूर्यमुखीको तेज

जीवनप्रसाद राई

नेपालको तराईदेखि हिमालसम्म मजाले फुल्ने–फल्ने सूर्यमुखीको खेतीमा योजनाकारको ध्यान नजानु खेदको कुरा हो ।

नेपालमा बढेको स्वास्थ्य चेतनाले गर्दा कोलेस्ट्रोरल नहुने तेल खाने प्रचलन बढेको छ। विभिन्न ब्राण्डका सूर्यमुखी (सन फ्लावर) को तेल सजिलै र सुलभ रूपमा उपलब्ध पनि भएकोले यसको उपभोग घट्नेवाला छैन। तर, हामी नेपालीमा बढ्दो उपभोगमुखी बानीले सूर्यमुखी खेतीदेखि तेल निकाल्नेसम्मका उत्पादन प्रक्रिया हुनै छाडेको छ भन्दा अत्युक्ति हुँदैन। कोलमा पेलेर भुटुन खाने चलन त अब कर्णाली र सुदूरपश्चिमका केही भागमा मात्र बाँकी छ। 

अहिले हरेकजसो नेपाली भान्सामा उपभोग भइरहेको सूर्यमुखीको तेल मलेशिया, संयुक्त अरब इमिरेट्स, युक्रेन, थाइल्यान्ड र भारतबाट आयात भइरहेको छ। नेपालीका तौरतरिका नियाल्दा यो आयात आकासिन्छ नै भन्न सकिन्छ। अहिले नै पनि वार्षिक रु.१ अर्बको सूर्यमुखी तेल आयात भइरहेको तथ्यांक छ। यसले के देखाउँछ भने, हाम्रोसामु एकातिर संभावनाले पर्खिरहेको छ भने अर्कोतर्फ आयात गरेर खाने सजिलो बजारले स्वागत गरिरहेको छ। यो अवस्थामा आफ्नै संभावनालाई पहिल्याउनु बुद्धिमानी हुनेछ र त्यो सजिलै गर्न पनि सकिन्छ।

धेरैले सजावटको लागि घरआँगनमा लगाउने गरेको सूर्यमुखी फूल एउटा गजबको तेल बाली हो र नेपालमा यसको खेती जहाँ र जहिले पनि गर्न सकिन्छ। तालमेल मिलाउन सक्दा नेपालका पहाड, उच्च पहाड र हिमाली क्षेत्रमा वैशाखदेखि असार पहिलो सातासम्म र तराई–मधेशमा भदौ–मंसीर तथा फागुन, चैतसम्म सूर्यमुखी छर्न सकिन्छ। पहाडको एक रोपनी बारीमा १०० देखि १५० लीटरसम्म तेल निस्कने सूर्यमुखी उत्पादन हुन्छ। बियाँको बाला काटिसकेपछि सूर्यमुखीको बोटबाट राम्रो खालको मल र ब्रिकेट बनाउन सकिन्छ भने पीनाबाट अचार, पशु आहार र विभिन्न किसिमका कस्मेटिक्स सामग्री उत्पादन हुन्छन्। सूर्यमुखीको तेललाई अझ् प्रशोधन गरेर उच्च गुणस्तरको बनाउन सकिन्छ। यसको व्यावसायिक उत्पादन अन्य बालीको तुलनामा सजिलो पनि छ, तर तेलहन खेतीको रूपमा तराईमा कतैकतै सीमित छ। यो अवस्थाले हाम्रा दल, नेता र सरकारदेखि सरकारका विज्ञ सल्लाहकारहरूसम्मलाई गिज्याइरहेको छ।

हाम्रो सरकार र तलबी विज्ञहरूले झिनामसिना लाग्ने कुरामा टाउको नदुखाउने चलाखी गर्दाकै परिणाम हो, अहिलेको रु.८ खर्ब छुन खोजिरहेको वार्षिक व्यापार घाटा। जबकि, पाँच महीना काम गर्ने हो भने रु.१ अर्बको सूर्यमुखी तेल आयात रोक्न सकिन्छ। तुरुन्तै 'एक्सन' मा जान सकिने कामको सूची बनाएर लाग्ने हो भने अर्को एक वर्षमा आयात भइरहेका २० प्रकारका कृषि वस्तु आयात गर्नु नपर्ने आत्मनिर्भर अवस्था सिर्जना हुनसक्छ।

सूर्यमुखी खेतीमा सरकार, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैसस, निजी क्षेत्र कसैको पनि नजर परेको छैन। हाम्रो निजी क्षेत्र विदेशमा तयार कृषि वस्तु नेपाल भित्र्याएर नाफा लिन र सरकार आयात इजाजत खोलिदिनमै तल्लीन छ। कृषि मन्त्रालयले एउटा मिसनको रूपमा यसलाई विस्तार गर्ने हो भने एक वर्षभित्र नेपाल स्वस्थकर तेलमा आत्मनिर्भर बन्न सक्छ। अर्को एक वर्षमा हामी सूर्यमुखीको विभिन्न गुणस्तरका तेल निर्यात गर्न सक्ने हुन्छौं। यसबाट एकातिर वार्षिक रु.१ अर्ब विदेशिनबाट जोगिन्छ भने अर्कोतिर वैकल्पिक इन्धन, मल, कस्मेटिक्सका कच्चा वस्तु उत्पादनबाट अर्को रु.१ अर्ब बचत हुन्छ।

नेपालमा कृषि विकास र गरीबी निवारण सम्बन्धी कार्यक्रम कति छन्, गनेर साध्य छैन; तर सूर्यमुखी जस्तो गतिलो बालीबारे सबै चूपचाप छन्। सूर्यमुखीको जति खेती भएको छ, थोरै किसानले आ–आफ्नै तालमा गरिरहेका छन्। खेती प्रविधिको प्रचारप्रसार त टाढाको कुरा, बीउ र मलको उपलब्धता पनि छैन। तर, गर्ने भनेको नभएकै अवस्थामा हो। अब सूर्यमुखीको व्यावसायिक खेतीका लागि कृषि मन्त्रालय र देशी–विदेशी गैससदेखि किसानसम्म अग्रसर हुनुपर्‍यो। नेपालका पहाड–मधेशमा टनका टन सूर्यमुखी उत्पादन मात्र नभई अत्याधुनिक प्रशोधनशाला पनि स्थापना हुनुपर्छ।

प्रतिकृया दिनुहोस