लक्ष्मी योगकी
कुनैबेला घिस्रिएर हिंड्ने लक्ष्मी श्रेष्ठ (४७) निरन्तर योगकै कारण गुरुआमा बनेकी छन्।
२०५५ सालमा परिवारसँग पोखरा घुम्न जाँदा दुर्घटनामा परेकी लक्ष्मी श्रेष्ठको निधार र खुट्टामा चोट लाग्यो। दुई महीना त थला नै परिन्। निधारको चोट उपचारसँगै निको हुँदै गए पनि खुट्टाको भने भर थिएन। डाक्टरले पनि 'के भएको हो, कसरी निको हुन्छ' भन्न सकेनन्। “हिंड्न त कहाँ, घिसि्रन पनि गाह्रो थियो”, उनी भन्छिन्, “दुई वर्ष घरभित्रै बिताएँ।”
संकटको यो समयमा सबैभन्दा नजिकका श्रीमान् नै लक्ष्मीसँग रहेनन्। अर्को घरजम गरे। तीन छोरी र एक छोराकी आमा लक्ष्मीका लागि त्यो क्षणको सम्झनाले पनि कहाली लाग्छ। उनलाई जीवन बेकार लाग्न थाल्यो। तर, छोराछोरीको अनुहारले उनलाई मर्न पनि दिंदैनथ्यो।
दुर्घटनाको चार महीनाजति पछि एकदिन घरमा टेलिभिजन हेरिरहँदा योग सिकाइरहेको दृश्य देखिन्। योगबाट कैयन् रोग निको हुनसक्छ भनी सुनेकी उनले त्यसपछि ध्यानपूर्वक योग हेर्न थालिन्। केही दिनपछि टेलिभिजनमा सिकाएजस्तै गरी सकी–नसकी घरमै योग गर्न थालिन्। नियमित योगका कारण खुट्टा केही दह्रा भए। विस्तारै उनी भित्तो समाउँदै केही पाइला हिंड्न सक्ने भइन्। उनका केही वर्ष यसरी नै बिते।
२०६३ सालदेखि टुँडिखेलमा योग सिकाउन शुरु भयो। तर, बागबजारबाट टुँडिखेल पुग्नु उनका लागि 'महाभारत' नै थियो। “खल्च्याङ खल्च्याङ गर्दै जबर्जस्ती पुग्थें, तर लाज लागेर गेटबाटै फर्कन्थें”, उनी भन्छिन्।
टुडिखेलमा योग गर्न थालेपछि खुट्टामा महत्वपूर्ण परिवर्तन देखिन थाल्यो। उनी पहिले जस्तै तन्दुरुस्त अनुभव गर्न थालिन्। केही वर्षमै उनी राम्ररी हिंडडुल गर्न सक्ने बनिन्। “योगको चमत्कारले नै म ठीक भएँ”, उनको भनाइ छ।
खुट्टा ठीक भएपछि लक्ष्मीलाई योग गरिरहने आवश्यकता थिएन। तर, उनले आफूलाई नयाँ जीवन दिने योग छाड्न सकिनन्। तन र मन दिएर नियमित रुपमा योग गर्न आएकी लक्ष्मीको योगप्रतिको प्रेमलाई योगगुरुले पनि सराहना गरे।
यिनै लक्ष्मी पछिल्लो सात वर्ष यता टुडिखेलमा निःशुल्क योग सिकाइरहेकी छन्। बेलाबेला आफ्नो योग यात्राबारे योग गर्न आएकाहरूलाई साट्दा धेरैले आश्चर्य व्यक्त गर्छन्। त्यसो त स्वयं लक्ष्मीलाई पनि परिवर्तनप्रति विश्वास गर्न गाह्रो हुन्छ।
लक्ष्मी सातामा तीन दिन टुँडिखेल, मरुटोलस्थित कान्ति स्कूल र ललितपुरको मलपोखरीमा योग सिकाउँछिन्। मुक्ति योग ध्यान प्रतिष्ठानमा आबद्ध उनी आफ्नो पालो अनुसार योग सिकाउँछिन्। योगका तरीका, विशेषता, फाइदाबारे जानकारी दिन्छिन्।
योगले सद्दे भएसँगै लक्ष्मीले सिलाई तालीम लिई ओमबहालमा टेलर्स चलाउँदै आएकी छिन्। प्रौढ शिक्षाबाट सावाँ अक्षर पनि चिनेकी छन्। दुई छोरीको विवाह पनि गरिदिइन्। १४ वर्षीय छोरा र २१ वर्षीय छोरीका साथ उनी अनामनगरमा बस्छिन्।
“कोही मानिस योग गरेर के हुन्छ भन्छन्, उनीहरूसामु म स्वयं उदाहरण हुँ”, लक्ष्मी भन्छिन्। योगबारे आफ्नै अनुभव समेटेर सिकाउने गरेको बताउँदै उनी भन्छिन्, “अरुलाई सिकाएर योगप्रतिको ऋण तिरिरहेकी छु।”