दोस्रो चरणको निर्वाचनमा सहभागी हुन्छौं: राजपा नेता कर्ण
राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले आफ्ना कार्यकर्ताहरुलाई लगाईएका राजनीतिक मुद्दा फिर्ता, आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा लगायतका न्यूनतम् शर्त सरकारले पूरा गरे दोस्रो चरणको निर्वाचनमा भाग लिने बताएका छन् ।
आज रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले दोस्रो चरणको निर्वाचनमा भागलिने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै भने, "हामीले निर्वाचनमा जादैनौँ भनेका छैनौ, निर्वाचनमा भाग लिन्छौ, तर हाम्रा न्यूनतम माग पुरा गर्नुपर्छ ।"
उनले आन्दोलनका क्रममा मृत्यु भएका केहीलाई अझै शहीद घोषणा गर्न बाँकी रहेको, बिचारकै आधारमा कार्यकर्ता जेलमा रहेको र स्थानीय तहको संख्या नथपिएको भन्दै आफ्ना यी मागहरु पूरा भए निर्वाचनमा भाग लिने बताए ।
उनले अब नयाँ बन्ने सरकारलाई तत्काल विना शर्त समर्थन नगर्ने समेत बताए । कर्णले भने, "हामी अहिले नै देउवाजीलाई समर्थन गर्ने पक्षमा छैनौं, हाम्रा मागहरु पूरा नगरेसम्म हामीले किन समर्थन गर्छौं ?"