'माफी मागी फर्कियो भारतीय प्रहरी टोली'
नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले आज बिना कार्वाही भारत पठाएको छ।
भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको हो ।
नागराजसहितको पाँचजना भारतीय प्रहरी टोली कञ्चनपुरकै गड्डाचौकी नाका प्रयोग गरी १७ जेठ राति डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडा पुगेको थियो ।
स्थानीयवासी लालबहादुर आउजीलाई अपहरण गरी जिपमा राखेर महेन्द्रनगर फर्कने क्रममा जिल्ला प्रहरी कार्यालय, डोटीको टोलीले भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको हो ।
आउजीलाई राति घरबाट पक्राउ गरी कुटपिटसमेत गरिएको थियो । कुटपिटका क्रममा स्थानीयवासीले त्यसको प्रतिवादसमेत गरेका थिए । तर उनीहरुले आउजीलाई छुटाउन भने सकेनन् ।
सन् २०१६ सेप्टेम्बरमा भारतको कर्णाटकमा बैंक अफ महाराष्ट्रबाट १४ लाख भारतीय रुपैयाँ चोरी भएको र सो घटनामा लालबहादुरको संलग्नता रहेको भन्दै उनको खोजी गर्ने क्रममा भारतीय प्रहरी टोली डोटी पुगेको बताइएको छ ।
भारतको कर्णाटकमा मजदुरी गर्दै आएका दिपायल सिलगढी नगरपालिका– ८ का भाने पार्की, गणेश पार्की, डिल्ली पार्की, लाले पार्की, सुर्जे पार्की र प्रसाद पार्कीलगायतलाई भारतीय प्रहरीले पक्राउ गरेको उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पक्राउ गरिएका प्रसाद पार्कीलाई साथमा लिई भारतीय प्रहरी टोली डोटी पुगेको थियो । पार्कीकै सहयोगमा भारतीय प्रहरीले आउजीको घर पत्ता लगाउन सकेको हो ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले पक्राउ परेका भारतीय प्रहरी दक्षिण भारतको कर्णाटकबाट आएका बताए ।
“भारतीय प्रहरीले समन्वय गर्नेबारे आफूहरुलाई थाहा नभएको भन्दै माफी मागे,” देउजाले भने – “अब आउँदा नेपाल प्रहरीसित समन्वय गर्छौं भनेका छन् ।” आउजी र पार्कीका विषयमा छानबिन भइरहेको उनले बताए ।
यसअघि २०७३ वैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टेबाट पाँचजना भारतीय प्रहरी हतियारसहित पक्राउ परेका थिए । भारतीय प्रहरी हतियारसहित कञ्चनपुरको गड्डाचौकी नाका भएर डोटी पुगेको थियो ।
रासस