मनिलाः क्यासिनोमा ३६ जनाको शव फेला
फिलिपिन्सको राजधानी मनिलास्थित रिजोर्टस वल्र्ड मनिलाको क्यासिनोमा एकजना बन्दुकधारीले आक्रमण गरेको केही बेरपछि त्यहाँ ३६ जनाको शव फेला परेको छ ।
शुक्रबार विहान अनुहार ढाकेको एकजना बन्दुकधारी क्यासिनोमा पसेर गोली चलाएको र उसले क्यासिनोका टेबलमा पेट्रोल छर्केर आगो लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु भएकाहरुमध्ये अधिकांश गोलीले नभई धुवाँले निस्सासिएर मरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ, “मृत्यु भएकामध्ये अधिकांश महिला छन् र उनीहरु वाथरुममा मृत फेला परेका छन् ।”
सबै मृतकहरु झ्याल ढोका बन्द गरिएको क्यासिनो क्षेत्रमै फेला परेका थिए ।
इस्लामिक चरमपन्थी आइसीसले उक्त घटना गराएको भनिए पनि प्रहरी अधिकारीहरुले यो डकैतीको प्रयास हुन सक्ने पनि अनुमान गरेका छन् । आक्रमणकारीको उद्देश्य अझै स्पष्ट भइसकेको छैन ।
प्रहरीले संदिग्ध आक्रमणकारीको तस्वीर सार्वजनिक गरेको छ । आक्रमणकारीको जीउडाल र उसको लवजले गर्दा ऊ विदेशी हुनसक्ने प्रहरीको अनुमान छ ।
उक्त आक्रमणकारीले आफैंलाई पनि रिजोर्टको पाँचौ तलाको एउटा कोठामा जलाएर आत्महत्या गरेको फिलिपिन्सको प्रहरीले जनाएको छ ।
आक्रमणकारीको शव डढेर पहिचान खुल्न नसक्ने अवस्थाम पाइएको र उसँगै हतियार पनि भेटिएको सीएनएनले उल्लेख गरेको छ । होटेलका कर्मचारीले आक्रमणकारीले आफैंले आफूलाई गोली हानेको बताएका छन् ।
घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । उनीहरु गोली चलेपछि भागदौडका क्रममा र झ्यालबाट हामफाल्दा घाइते भएको प्रहरीले जनाएको छ ।