आयोगलाई मतगणना सुचारु गर्न आग्रह
निर्वाचन आयोगले ठोस निर्णय दिन नसकीरहेका बेला जवाफदेहिता निगरानी समितिले भरतपुर महानगरपालिकाको मतगणना सुचारु गर्न आग्रह गरेको छ । १४ जेठ राति मतपत्र च्यातेको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै समितिले पुनः मतदान होइन मतगणना गर्न आग्रह गरेको हो ।
समितिद्वारा १८ जेठमा जारी विज्ञप्तिमा भनिएको छ, “दोस्रो चरणको निर्वाचनको प्रक्रिया शुरु भईसकेको परिस्थितिमा भरतपुर महानगरपालिकाको घट्नाले पार्नसक्ने गलत प्रभावलाई मध्यनजर गर्दै क्षति पुर्याइएका मतपत्र एकिन गरी मतगणना जारी राख्नु नै वैध बाटो हो ।”
समितिले पुनःमतदान गर्दा लोतन्त्रलाई घातक हुने र दण्डहिनताले पश्रय पाउने ठहर गरेको छ । उसले भनेको छ, “लोकतन्त्रलाई घातक र दण्डहिनतालाई पश्रय दिने गलत नजीर बस्न नदिने आयोगको दायित्व रहेको कुरा ध्यानाकर्षण गराउँदै हामी स्वच्छ निर्वाचनका लागि अविलम्ब मतगणना सुचारु गर्न निर्वाचन आयोगसँग अनुरोध गर्छौं ।”
समितिका तर्फबाट जारी विज्ञप्तिमा चरण प्रसाई, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, देवी सुनार, सुमन अधिकारी, कनकमणि दीक्षित, महामुनिश्वर आचार्य, राजुप्रसाद चापागाई, सावित्री श्रेष्ठ र शिव विसंखेले हस्ताक्षर गरेका छन् ।