माछा मार्न जाँदा गोहीले हात खायो
पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न गएका प्रसाद महतोको हात गोहीले चुँडालेको छ ।
दाहिने हात गोहीले चुँडेर लगेपनि ज्यान जोगाउन पाएकोमा खुशी देखिएका ४६ वर्षीय महतो अहिले भरतपुर अलाइभ अस्पतालम उपचाररत छन् । “ज्यान बाँच्यो, त्यसैमा खुशी छु”, महतोले भने ।
आज बिहान अस्पतालमा भेट्दा उनलाई हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै थिए । उनका भतिज विफल महतो भन्छन्, “हात गएर केही भा छैन, हाम्रो मान्छे बाँच्नुभो, त्यही ठूलो हो ।”
खैरहनी वडा नं १३ धर्मपुर घर भएका उनी बुधबार दिउँसो ३ बजे माछा मार्न गएका थिए । अपरान्ह् ३स्३० बजे इचर्नी खोलामा तियारी जाल बिछ्याउँदै माछा मार्न थालेका थिए ।
उनका साथीहरु माइला र पलार सँगै थिए । दुई छेउबाट जाल बिच्छ्याउँदै जाँदा खोला छेउमै कहाँबाट मगरगोही आयो पत्तै भएन ।
“च्याप्प हात समात्यो, तान्न थालिहाल्यो, अनि पाँच फन्का घुमायो, पछार्यो”, प्रसाद महतोले घटना विवरण सुनाउँदै भने, “लान खोजेकोथ्यो, म डगमगाइन र हात चुँडेर लग्यो ।”
उनको भनाइअनुसार त्यो समयमा आफूले मुड्कीले हानेपनि लट्ठी नभएकाले हात जोगाउन सकिएन । सँगै रहेका माइलाले पनि लात्ता र मुड्कीले हानेका थिए । तर केही सीप नलागेको प्रसाद बताउँछन् । अहिले अलाइभ अस्पतालमा मुख्य शल्यक्रिया सफल भएको छ ।
“तीन सेन्टीमिटर हड्डी काटिएको छ”, डा प्रमोद लामिछानेले भने। उनका अनुसार अस्पताल आउँदा रगत बग्ने नसा बन्द भएकोले उनी बाँच्न सफल भएका हुन् ।
सिधा जोडिएको नसा खुलेको भए रगत बगेर ज्यानै जाने डा लामिछाने बताउँछन् ।
अब करिब एक महिना अस्पताल बस्नुपर्ने उनको भनाइ छ । अहिले आराम गरिरहेका प्रसाद महतो आफू घरमा खानका लागि माछा मार्न गएको बताउँछन् ।
विदेशमा काम गरेर ९ महिनाअघि उनी घर फर्केका थिए । त्यही कमाएको पैसा अहिले उपचारमा प्रयोग गर्न पाएको उनले बताए ।
रासस