राप्रपा जिल्ला अध्यक्षसहित २०७ द्वारा राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् । वालिङमा १८ जेठमा आयोजित पत्रकार सम्मलेनमा गुरुङले भने, “पार्टी नेतृत्वको असक्षमताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हामीले लज्जास्पद हार व्यहोर्नुपर्यो ।”
सङ्गठन निर्माणभन्दा पनि व्यक्तिगत स्वार्थ र सत्तामा कसरी पुग्न सकिन्छ भन्ने मानसिकता केन्द्रीय नेतृत्व तहमा देखिएकाले राजिनामा दिएको गुरुङको भनाई छ ।
राजीनामा दिनेमा जिल्ला अध्यक्ष गणेश गुरुङसहित उपाध्यक्ष झलबहादुर गुरुङ, क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष श्यामप्रसाद अर्याल, जिल्ला सदस्य वीरबहादुर गुरुङ, लक्ष्मी खाँण र युवक सङ्गठनका जिल्ला अध्यक्ष रत्नबहादुर गुरुङलगायत छन् ।रासस