भरतपुरमा च्यातिएका मतपत्र गणना हुँदै
भरतपुरमा च्यातिएका मतपत्रको गणना शुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका बारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुट्टै अनुमतिपत्रको व्यवस्था गरी प्रवेश गर्न दिइएको छ । च्यातिएका मतपत्रको तथ्याङ्क लिएर निर्वाचन आयोगमा पठाइने छ ।
निर्वाचन आयोगले १७ जेठमा च्यातिएका मतपत्रको सङ्ख्या यकिन गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।
मतपत्र च्यातेको आरोपमा चितवन प्रहरीले माओवादी केन्द्रका दुईजना प्रतिनिधिलाई पक्राउ गरी जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ ।
भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा १४ जेठ राती मतपत्र च्यातिएको हो । अब वडा नं २० को मात्र मतगणना बाँकी रहेको छ ।
घटनाको समयसम्म भएको मत गणनाअनुसार मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणू दाहालभन्दा ७३३ मतले अगाडि रहेका छन् । रासस