बाजुरा विमान दुर्घटना अपडेट: चालकको निधन, चामल लिएर हुम्ला जाँदै थियो
सुर्खेतबाट चामल लिएर हुम्लाका लागि उडेको नेपाली सेनाको विमान बाजुरामा अवतरणका क्रममा दुर्घटना भएको छ ।
हुम्लामा मौषम खराब रहेपछि डाइभर्ट गरी बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा दुर्घटनामा पर्दा चालक नेपाली सेनाका महासेनानि कैलाश गुरुङ्गको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक तथा प्रबक्ता सुदाम रावलले वताए ।
मेजर अनिता आले (सहचालक) र सुबेदार पूर्णबहादुर खड्का गम्भीर घाइते भएका छन् ।
जहाज अवतरण गर्ने क्रममा धावनमार्गभन्दा बाहिर पुगेको र पछारिएर केही पर खेतमा पुगेको थियो । दुर्घटनापछि जहाजमा लागेको आगो विमानस्थल नजिकै रहेका नेपाली सेना र प्रहरीले तत्कलै निभाउन सफल भएका थिए ।
गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट अहिले नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ ।
नेपालगन्जबाट भारतीय पर्यटक लिई हुम्लाको सिमीकोटका लागि उडेको सीता एयरको जहाज मौसम खराबीका कारण अवतरण हुन नसक्दा कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो । त्यही विमानबाट घाइतेहरुलाई नेपालगञ्ज लगिएको हो ।