‘कुलबहादुरका हत्याका अभियुक्तलाई अझै पक्राउ गरिएन’
स्थानीय तहको निर्वाचन प्रचारको क्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताको आक्रमणमा परी मृत्यु भएको दोलखा गौरीशङ्कर गाउँपालिका–१ जुँगुका कुलबहादुर तमाङका आफन्तले हत्यामा संलग्नहरुलाई कार्वाहीको माग गरेका छन् ।
पीडित परिवारले आज पत्रकार सम्मेलन गरी आफूहरुले किटानी जाहेरी दिंदा पनि स्थानीय प्रशासनले पक्राउ नगरेको भन्दै आपत्ति जनाएका छन् ।
पत्रकार सम्मेलन गरी मृतककी श्रीमती ३५ वर्षीया साङमाया तामाङले आफ्ना पतिका हत्यारा खुलेआम हिडिरहेको र उल्टै आफ्नो छोरा तथा ससुरालाई मार्ने धम्की दिएको बताइन् । उनले भनिन् “प्रहरी– प्रशासनले उनीहरुलाई अझै पक्राउ गरेको छैन ।”
गौरीशङ्कर गाँउपालिका–१ जुँगुमा वडा सदस्यका उम्मेदवार गोरे तमाङको छोरा कुलबहादुर तमाङलाई गत २६ बैशाखमा स्थानीय निलकण्ठेश्वर मावि नजिक होटलमा बसिरहेको अवस्थामा माओवादी केन्द्रका नेता कार्यकर्ताले आक्रमण गरी हत्या गरेको साङमायाको भनाई छ ।
तामाङको मृत्यु पछि उनको बुबा गोरे तमाङले माओवादी केन्द्रका नेता पूर्व राज्यमन्त्री देवी खड्का, विशाल खड्का लगाएत ३९ जनाको नाममा कतव्र्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
तामाङको हत्या भएको भोलिपल्ट घट्नामा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरिएको भए पनि त्यसपछि किटानी जाहेरीमा परेका अन्य कोहि पनि पक्राउ नगरिएको गौरीशङ्कर गाँउपालिका उपप्रमुख उर्मिला केसी थामीले बताईन ।
प्रहरी हिरासतमा रहेका ८ जनालाई पनि गाँउलेले पक्राउ गरी प्रहरीलाई बुझाएको केसीको भनाई छ ।
घट्नाको भोलिपल्ट प्रहरीले देवी खड्का र विशाल खड्कालाई नियन्त्रणमा लिए पनि सुरक्षित ठाँउमा लगेर छोडिदिएको मृतकका आफन्तको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्की घट्नामा संलग्नको आशंकामा अहिलेसम्म ९ जना पक्राउ परेको र अनुसन्धान जारी रहेको बताउँछन् ।
“अब हामी छिट्टै अनुसन्धान सकेर मुद्दा अदालतमा बुझाउने तयारीमा छौ,” प्रहरी नायव उपरीक्षक कार्कीले भने ।
सर्मिला बुढाथोकी, दोलखा