तुलसीपुरका पाँच पत्रकार निर्वाचनमा उमेदवार
दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिपर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेसबाट तीनजना र नेकपा एमालेबाट दुईजना गरी पाँचजना पत्रकार आगामी निर्वाचनका लागि उम्मेदवार बन्ने भएका हुन् ।
रेडियो सञ्जिवनीमा कार्यरत पत्रकार सुवास डिसीलाई नेपाली कांग्रेसले तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य, रेडियो तुलसीपुरमा कार्यरत पत्रकार प्रकाश डाँगीलाई दंगीशरण गाउँपालिका–२ को सदस्यमा कांग्रेसले उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–५ को वडा सदस्यमा कांग्रेसले सुरेश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । श्रेष्ठ न्यूज २४ टिभीका जिल्ला संवाददाता हुन् ।
त्यसैगरी, एमालेले भीमकान्त बस्याललाई तुलसीपुर उपमहानगरपालिका–९ को वडा अध्यक्ष पदमा उम्मेदवार बनाउने भएको छ । उनी रेडियो प्रकृति एफएमका स्टेसन मेनेजर थिए ।
यस्तै, एमालेले रेडियो प्रकृतिमै कार्यरत दुजमान भण्डारीलाई तुलसीपुर उपमहानगरपालिका–६ बाट वडा सदस्य पदको उम्मेदवार बनाउने भएको छ ।
राजनीतिक दलले उम्मेदवार बनाएका सबै पत्रकार आआफ्नो प्रचारप्रसारमा व्यस्त छन् । उनीहरु मतदाताको घरघरमा पुगेर मतदातासँग आआफ्नो पक्षमा मत माग्दै घरदैलो गरिरहेका छन् ।
रासस