बजेट रोक्ने एमाले चेतावनीपछि महाअभियोग प्रस्ताव फिर्ता
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट रोक्ने चेतावनी दिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता भएको छ ।
प्रधानन्यायाधीश विरुद्ध लगाइएको महाअभियोग फिर्ता नलिए संसद् अवरुद्ध गर्ने एमालेको चेतावनीपछि सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले महाअभियोग प्रस्ताव फिर्ता लिएका हुन् ।
महाअभियोगका प्रस्तावक कांग्रेस सांसद मीनबहादुर विश्वकर्मा र समर्थक माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई लिखित जानकारी दिँदै प्रस्ताव फिर्ता लिएका छन् ।
प्रमुख दलहरुबीच १३ जेठमा महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । सत्तारुढ दलहरू सहमतिबाट पछि हटे बजेट प्रस्तुत हुन नदिने एमाले अडानपछि महाअभियोग फिर्ता लिइएको छ ।