तत्काल मतगणना शुरु गर्न एमालेको माग
नेकपा एमाले चितवनले पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरुलाई कानुनी कारबाहीसमेत गर्न माग गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं १९ को शान्तिपूर्ण ढङ्गले मतगणना भइरहेको समयमा मतपत्र च्यातिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मतपत्र च्यातिएपछि तत्काल घटनाको बारेमा सत्यतथ्य जानकारी मिडियामार्फत दिन र च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्र गणना गर्नुपर्छ भन्ने निर्वाचन अधिकृतसमक्ष माग राखेको भएपनि निर्वाचन अधिकृतले मागलाई सुनुवाइ नगरी गणना कार्य स्थगित गरिएको भन्दै विज्ञप्तिमार्फत एमालेले विरोध गरेको छ ।
जिल्ला अध्यक्ष पोखरेलले पुनः मतदान सम्भव नरहेको बताउँदै यस्तो कार्यले दोस्रो चरणको मतदानपछि पनि मतपत्र च्यात्नेलाई प्रोत्साहन हुने बताए ।
भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने १९ नं वडाको मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको हो । वडा नं २० को मतगणना गर्न बाँकी रहेको छ । रासस