रिपोर्टसोमवार, जेठ १५, २०७४

रेडियो क्रान्तिको संवाहक

सविता श्रेष्ठ

जनताले पनि रेडियो चलाउन सक्छन् भन्ने नजिर स्थापना गरेको ‘रेडियो सगरमाथा’ को पथ पछ्याउँदै मुलुकभर सयौं रेडियो गुञ्जिरहेका छन् ।

‘सकारात्मक सामाजिक परिवर्तनको अनवरत यात्रामा रेडियो सगरमाथा नेपाली रेडियो नेपाली आवाज’ भन्दै प्रसारण शुरु गरेको ‘रेडियो सगरमाथा’ ले ९ जेठमा २०औं वार्षिकोत्सव मनाएको छ । त्यसअघि देशमा २० चैत २००७ मा खोलिएको सरकारी स्वामित्वको ‘प्रजातन्त्र नेपाल रेडियो’ (अहिलेको रेडियो नेपाल) मात्र प्रसारणमा थियो ।

रेडियो सगरमाथाको बागडोल, ललितपुरस्थित स्टुडियो । तस्वीरहरुः कुन्द दीक्षित

रेडियो नेपाल शुरु हुनु केही वर्षअघि नै २००४ सालमा रेडियो सेट भित्रिइसकेको थियो । तर, त्यो सर्वसाधारणको पहुँचमा थिएन । सरकारीबाहेक निजी क्षेत्रलाई रेडियो स्टेशन सञ्चालनको अनुमति पनि थिएन । जसबाट, सरकारले जे भन्न र भनाउन चाहन्थ्यो, त्यही मात्र प्रसारण हुन्थ्यो ।
वरिष्ठ पत्रकार भैरव रिसाल ‘रेडियो सगरमाथा’ को थालनीले रेडियो प्रसारणको अधिकार नेपाली जनताको हात–हातमा पुगेको बताउँछन् ।

रेडियो प्रसारणको अनुमति लिन धेरै संघर्ष गर्नुपरेको सम्झँदै रिसाल भन्छन्, “सिंहदरबारको बाक्लो पर्खाल भत्काएर यो अधिकार बाहिर आएको हो ।”

२०४७ सालको संविधानले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्‍यो । त्यसैको टेकोमा नेपाल वातावरण पत्रकार समूह (नेवापस), हिमाल एसोसिएसन, वल्र्ड भ्यू नेपाल र नेपाल प्रेस इन्ष्टिच्यूटको संयुक्त पहलमा रेडियोको फ्रिक्वेन्सी मोडुलेसन (एफएम) को प्रविधि ल्याउने प्रयास शुरू भयो । तर, ऐन तथा नियमावली नबनेको भन्दै सरकारले अनुमति दिएन ।

२०४९ मा राष्ट्रिय प्रसारण ऐन र नियमावली बन्यो । तैपनि एफएम सञ्चालन अनुमति दिइएन । २०५२ मा नेवापसले मुरारी शिवाकोटीको अध्यक्षतामा ओम खड्का र रघु मैनाली रहेको रेडियो सञ्चालक समिति नै बनायो । त्यही वर्षको १८ चैतदेखि ४ दिन उपत्यकाको आकाशमा पहिलोपटक निजी रेडियो घन्कियो । “अनुमति विना किन रेडियो सञ्चालन गरेको भन्दै सरकारले स्पष्टीकरण नै सोध्यो”, रेडियो अभियन्ता रघु मैनाली बताउँछन् ।

अथक् प्रयास गर्दागर्दै पनि सञ्चालन अनुमति नदिएपछि नेवापसले बुद्धजयन्तीको अवसर पारेर ९ जेठ २०५४ देखि रेडियो शुरु गर्ने निर्णय गर्‍यो । र, सरकारलाई यसको जानकारी पनि गरायो । बल्ल सरकारले ५ जेठमा सञ्चालन अनुमति दियो– ‘रेडियो सगरमाथा १०२ थोप्लो चार मेगाहर्ज’ । “त्यसदिन रेडियोमा सरकारी एकाधिकार मात्र तोडिएन, रेडियो सगरमाथा दक्षिणएशियाकै पहिलो सामुदायिक रेडियो बन्यो” मैनाली भन्छन्, “जनजागरण र विकासको हिसाबले रेडियो सगरमाथाले क्रान्तिको ढोका खोलेको थियो ।” त्यसपछि नेपालको सुनाम सामुदायिक वनसँगै सामुदायिक रेडियोमा पनि चल्न थाल्यो ।

यसको अर्को कारण पनि छ, भारतलगायतका देशहरूमा निजी स्वामित्वका रेडियोले समाचार बजाउन पाउँदैनन् । तर, नेपालको अभ्यास फरक छ । यहाँ रेडियोलाई आफ्नै सम्पादनमा समाचार प्रसारण गर्ने स्वतन्त्रता दिइएको छ ।

२० वर्ष पुगेको अवसरमा रेडियो सगरमाथाद्वारा आयोजित कार्यक्रममा अध्येता प्रत्यूष वन्त, पत्रकार रमेश भुषाल र संस्थापकद्वय राजेन्द्र दाहाल र कनकमणि दीक्षित (बायाँबाट क्रमशः) ।

यसक्रममा १३ र १४ मंसीर २०६२, राजा ज्ञानेन्द्रको शाहीकालमा सरकारले रेडियो सगरमाथाको प्रसारण बन्द गराएको थियो । स्टेशनका उपकरण जफत गर्ने, कार्यरत पत्रकारलाई हिरासतमा समेत लिइएको थियो । तर, सर्वोच्च अदालतले सरकारको मनपरीविरुद्ध फैसला दिएपछि १५ मंसीरबाट रेडियोले पुनः प्रसारण थाल्यो । दैनिक दुई घण्टाबाट प्रसारण आरम्भ गरेको रेडियो सगरमाथा अहिले १८ घण्टा बज्छ ।

रेडियो सगरमाथाले अनुमति लिए पनि त्यसपछिको एक दशक सहज भएन । तर, पछिल्लो १० वर्ष भने गाउँगाउँ रेडियो पुग्यो । अहिले ४०० भन्दा बढी रेडियो नियमित प्रसारणमा छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार, २० माघ २०७३ सम्म मुलुकमा ७०० रेडियोले सञ्चालनको अनुमति लिइसकेका छन् ।

मैनाली पछिल्लो १० वर्षलाई रेडियोको संख्यात्मक विस्तारको अवधि मान्छन् । तर, यो अवधि रेडियोहरूले सिक्नमै खर्चिएकाले गुणात्मक फड्को मार्न नसकेको उनको धारणा छ ।

वरिष्ठ पत्रकार रिसाल भने रेडियोले सामुदायिक रेडियो समुदायको मर्म अनुसार काम गरेको छ कि छैन भनी मूल्यांकन गर्नुपर्ने बताउँछन् । बढेका रेडियोलाई व्यवस्थित गर्न सामुदायिक प्रसारण नीति आवश्यक भइसकेको बताउँदै उनी भन्छन्, “रेडियो धेरै हुँदा स्पष्ट टिप्दैनन् । त्यसैले पनि केही गरिहाल्नुपर्ने बेला भइसकेको छ ।”

प्रविधिसँगै श्रोता
शेयरकास्ट इनिसिएटिभको अध्ययन अनुसार, नेपालमा ५४ प्रतिशतले दैनिक रेडियो सुन्ने गरेका छन् । तीमध्ये ६७ प्रतिशतले मोबाइलमार्फत सुन्छन् । इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत मधु आचार्य बिहान र बेलुकीको ६–९ बजे धेरैले रेडियो सुन्ने गरेको पाइएको बताउँछन् ।

विकसित प्रविधिले रेडियोलाई ‘मल्टीपल डिभाइस’ मा ट्युन गर्ने सुविधा प्रदान गरेको छ । कम्प्युटर, मोबाइल, ल्यापटप, ट्याबमा समेत रेडियो सुन्न सकिन्छ । प्रविधिले रेडियोलाई परिष्कृत र व्यापक बनाएको बताउँदै आचार्य भन्छन्, “प्रविधिलाई श्रोता र श्रोतालाई नयाँ प्रविधिसँग जोड्न सक्नुपर्छ ।”

जहाँसुकै सुन्न र सुन्नका लागि विशेष समयसमेत छुट्याउनु नपर्ने भएकोले रेडियो समाज परिवर्तनको माध्यम बनिरहेको अभियन्ता मैनाली बताउँछन् । उनका भनाइमा, रेडियोको प्रसारण र ट्युनलाई सजिलो तथा सस्तो बनाउने र रेडियोको आयु बढाउने काम प्रविधिले गरेको छ ।

शेयरकास्टको अध्ययन अनुसार, अधिकांशले रेडियोमा स्थानीय विषयवस्तु सुन्न रुचाउँछन् । त्यसैले श्रोतालाई रेडियोसँग बाँध्न स्थानीय विषयवस्तु र प्रस्तुतिको गुणस्तर बढाउनुपर्ने रेडियोकर्मी मन्टेश्वरी राजभण्डारीको सुझाव छ । “धेरै रेडियो देखासिखीमा खोलिएका छन्, स्पष्ट लक्ष्य राख्नुपर्छ”, उनी भन्छिन् ।

प्रतिकृया दिनुहोस