१३ हजार १६० जनप्रतिनिधि निर्वाचित
३१ बैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनबाट १३ हजार १६० प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणमा निर्वाचन भएका जम्मा २८३ वटा स्थानीय तहमध्ये २८१ स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको छ भने चितवनको भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिका गरी २ वटा स्थानीय तहको मतगणना सम्पन्न हुन बाँकी छ ।
पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष २८१, उपाध्यक्ष÷उपप्रमुख २८१, वडाध्यक्ष २ हजार ५५१, वडा सदस्य ५ हजार ९८, महिला सदस्य २ हजार ५४७ र दलित महिला सदस्य २ हजार ४०२ जना निर्वाचित भइसकेका छन् ।
२८ जेठबाट मतदाता परिचयपत्र वितरण हुने
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि यही जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदाता आफैं मतदान केन्द्रमा उपस्थित हुन नसक्ने अवस्थामा परिवारको सदस्यले समेत आफ्नो परिवारका सदस्यको मतदाता परिचयपत्र बुझिलिने व्यवस्था गरिएको छ ।