स्वास्थ्य मन्त्रीको आग्रहमा डा केसीको अनशन भोलिसम्मका लागि स्थगित
चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित हुनुपर्ने, दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउनुपर्ने लगायतका मागहरु राख्दै दाङको घोराहीमा अनशन शुरु गर्न लागेका डा. गोविन्द केसीले भोलिसम्मका लागि अनशन स्थगित गरेका छन् ।
डा केसीले हिजो शनिवार ४ बजेदेखि अनशन शुरु गर्ने तयारी गरेको भए पनि स्वास्थ्य मन्त्री गगन थापाले २४ घण्टा समय मागेपछि उनले आज अपराह्न ४ बजेसम्म अनशन स्थगित गरेका थिए ।
तर, आज, आइतबार, १४ जेठमा पनि भोलि बस्ने मन्त्रिपरिषद बैठकले डा केसीका मागहरु पूरा गर्ने भन्दै थप समय मागिएपछि डा केसीले भोलिसम्मका लागि अनशन पुनः स्थगित गरेका हुन् ।
उनले विधेयक संशोधन, दाङमा मेडिकल कलेज र प्रधानन्यायाधीशविरुद्धको अविश्वास फिर्ताका आफ्नै तीनवटै माग पूरा नभए भोलि अपराह्न ४ बजेदेखि अनशन बस्ने जनाएका छन् ।
डा केसी राप्ती उपक्षेत्रीय अस्पताल परिसरमा अनसन बस्ने योजनासहित दाङ आएको भए पनि अस्पतालले ठाउँ नदिएपछि उनी अस्पताल नजिकैकोे सत्यसाई मन्दिरको धर्मशालामा अनसन बस्ने तयारीमा छन् ।
धर्मशालामै रहेका बेला मन्त्री गगन थापासँग फोनमा वार्ता गरेका केसीले मन्त्रिपरिषद अन्तर्गतको सामाजिक समितिबाट स्वस्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अवधारणापत्र तुरुन्तै पास गराउन र यसअघिका सम्झौता यथाशिघ्र कार्यान्वयन गरिए मात्रै आफूले अनशन रोक्ने बताएका थिए ।
उनले फोनमा मन्त्री थापासँग भने, “यो तरिकाले अनशन स्थगित हुदैन, यथाशिघ्र कार्यान्वयन गर्नुस, उधारो सहमतिले मेरो अनसन रोकिंदैन ।”
सन्तोष दहित, दाङ