रिपोर्टआइतवार, जेठ १४, २०७४

शहरमै ‘नछुने’

सविता श्रेष्ठ

महीनावारीका बेला थोपरिएका गलत अभ्यासका कारण हरेक महीना घर–घरमा महिला छुवाछूतको शिकार भइरहेका छन् ।

गीता सापकोटा महीनावारी भएको बेला भान्सा र पूजाकोठामा पस्दिनन् । यति मात्र होइन, महीनावारीको चार दिन खानेकुरा पनि परिवारका अन्य सदस्यले कोठाभित्रै ल्याइदिन्छन् । “घरमा बार्नुपर्छ भन्नुहुन्छ” उनी भन्छिन्, “ठूलाले भनेको मान्नैपर्‍यो ।”

रजस्वला अर्थात् महीनावारी बार्ने सापकोटा कुनै गाउँकी प्रतिनिधि होइनन् । उनको घर राजधानी काठमाडौं महानगरपालिकाको नयाँबजार हो ।

महीनावारीका बेला पूजाकोठा, भान्सामा जानुहुँदैन, दूध, दही खानुहुँदैनलगायतका परम्परागत प्रचलनलाई शहरी शिक्षित परिवारले समेत पालना गरिरहेका छन् । त्यसो त महानगरको चौघेरामै महीनावारी बार्ने कुरा कतिपयलाई अस्वाभाविक नलाग्न पनि सक्छ । तर, राजधानीमै जारी यस्ता कुप्रथाले महिलालाई हेर्ने समाजको मनोविज्ञानमा भनिए जति परिवर्तन नभएको पुष्टि गर्छ । राजधानीमै यस्तो अवस्था छ भने, सुदूर र मध्यपश्चिमका २१ जिल्लामा ‘छाउपडी प्रथा’ जारी रहनु आश्चर्य नभएको टिप्पणीलाई पनि बल प्रदान गर्छ ।

“गाउँमा मात्र होइन, शहरी क्षेत्रको घरघरमा ‘छाउपडी प्रथा’ को अंश छ” यूएन वुमन नेपालकी रणनीतिक साझ्ेदार विशेषज्ञ सरु जोशी भन्छिन्, “हरेक मानिसको मानसिकतामा छाउघर छ । यो छुवाछूत पनि हो ।”

छाउपडी उन्मूलनका लागि सरकारले २०६५ सालमा निर्देशिका समेत जारी गर्‍यो । सुदूरपश्चिममा छाउघर भत्काउने अभियान समेत सञ्चालन भए । महीनावारीमा परिवारबाट टाढा बस्न बनाइने अँध्यारा छाउघरका कारण महिलाहरूको ज्यान समेत जाने गरेको छ । महीनावारीका बेला अधिकांश किशोरी विद्यालय नै जाँदैनन् ।

महीनावारी बार्ने गलत अभ्यासविरुद्ध सरकारी तथा गैरसरकारी संस्थाका दशकौं अघिदेखिका कार्यक्रमहरूका बाबजूद घरघरका महिला विभेदको शिकार भइरहेकै छन् । सासूकै स्वीकृतिमा बार्न छाडेकी सरु जोशी भने महीनावारीकै बेला पनि पूजाआजासँगै अन्य काममा सहभागी हुन्छिन् । “हरेक व्यक्ति उत्तरदायी भएर व्यवहारमा लागू नगरेसम्म महीनावारी बार्ने क्रम हट्दैन”, उनी भन्छिन् ।

अधिकारकर्मी राधा पौडेल महीनावारीबारे व्याप्त गलत धारणाकै कारण अन्धविश्वास हट्न नसकेको बताउँछिन् । “महीनावारीलाई अपवित्र मानिनुमा हाम्रा धर्म, संस्कार नै प्रमुख कारण देखिन्छन्, यसैमाथि प्रहार गर्नुपर्छ ।”

अपांगता भएकामा झ्नै समस्या
सामान्य महिलाले समेत महीनावारीका बेला थुप्रै समस्या व्यहोर्नुपर्छ । अपांगता भएकाहरूको हालत झ्न् कस्तो होला ?

१३ वर्षअघि दुर्घटनामा परेर पक्षघात भएकी काठमाडौं रातोपुलकी देवी आचार्य (३७) कति बेला महीनावारी भयो भन्ने थाहै पाउँदिनन् । “कहिले त थाहा पाउँदा कपडामा, ह्विलचियरमा रगत लागिसकेको हुन्छ”, इन्डिपेन्डेन्ट लिभिङ सेन्टरमा कार्यरत उनी भन्छिन्, “उपयुक्त शौचालय नभेट्दा पनि उस्तै समस्या हुन्छ ।”

हालै मात्र बौद्धिक अपाङ्गता भएकी एक बालिकालाई महीनावारी हुन थालेपछि अभिभावकले नेपाल अपाङ्ग महिला संघको पुनस्र्थापना गृहमा ल्याएर छोडिदिए । “परिवार आवश्यक पर्ने यही बेला उनीहरूले समेत हेलाँ गर्छन्” राष्ट्रिय अपाङ्ग महासंघकी उपाध्यक्ष टीका दाहाल भन्छिन्, “शारीरिक रूपमा अशक्त भएका महिलाले महीनावारीको बेला बढी नै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्छ ।”

महीनावारी स्वच्छता
महीनावारीका बेला ध्यान दिनुपर्ने एउटै कुरा हो– स्वच्छता ।

महीनावारी महिलाहरूमा हुने नियमित र सामान्य प्रक्रिया भए पनि यो समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकार बताउँछन् । महीनावारीको समयमा सरसफाइ नगरे यौनाङ्गमा संक्रमण भएर तल्लो पेट दुख्ने, सेतोपानी बग्ने, पिसाब पोल्ने तथा महीनावारीमा गडबडी हुने जस्ता समस्या देखिन्छन् । उनी भन्छन्, “संक्रमण गम्भीर भए निःसन्तान हुने समस्या पनि देखिन सक्छ ।”

“तर, मुलुकका करीब ७० प्रतिशत महिलालाई महीनावारीमा हुनुपर्ने सरसफाइबारे ज्ञान नै छैन”, अधिकारकर्मी पौडेल भन्छिन् । शौचालयको अभाव तथा भएका शौचालयमा पनि महीनावारीका बेला प्रयोग हुने स्यानिटरी प्याड, डस्टविन, पानीको सुविधा नहुँदा महिलालाई गाह्रो भइरहेको उनी बताउँछिन् । महीनावारी स्वच्छता मानवअधिकार भएकाले सबैको सरोकारको विषय बन्नुपर्ने उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ समन्वय परिषद्का नेपाल निर्देशक गुणराज श्रेष्ठ देशभर शौचालय भएका ७० प्रतिशत विद्यालयमध्ये आधा मात्रै छात्रामैत्री रहेको बताउँछन् । यसकारणले गर्दा पनि धेरैजसो बालिकाले महीनावारीका बेला विद्यालय छुटाउने गर्छन् । परिषद्को अध्ययन उद्धृत गर्दै श्रेष्ठ महीनावारीका बेला करीब ३६ प्रतिशत बालबालिका विद्यालय नजाने र करीब ९४ प्रतिशत महिला नियमित कार्यालय नपुग्ने देखिएको बताउँछन् । 

खानेपानी तथा सरसफाइ मन्त्रालयको ‘महीनावारी सरसफाइ व्यवस्थापनसम्बन्धी नीति मस्यौदा समिति’ को सहसंयोजक समेत रहेका श्रेष्ठ ऐन तथा नीतिमार्फत महीनावारीलाई सकारात्मक मानेर कुप्रथालाई हटाउन सकिने बताउँछन् । “महीनावारीलाई लाज होइन, गौरवको रूपमा लिइने वातावरण बनाइनुपर्छ”, उनी भन्छन् ।

स्त्रीरोग विशेषज्ञ ताम्राकार महीनावारीका समयमा संभव भएसम्म दिनहुँ नुहाउनु राम्रो हुने बताउँछन् । “ननुहाए पनि सफा पानीले यौनाङ्ग सफा गर्नुपर्छ । एउटा प्याड नभिजे पनि ६ घन्टाभन्दा बढी प्रयोग गर्नुहुँदैन”, उनी भन्छन् । आर्थिक अभावमा हरेक पटकको महीनावारीमा स्यानिटरी प्याड प्रयोग गर्न नसक्ने महिला थुप्रै छन् । ताम्राकार त्यस्तो अवस्थामा सफा कपडालाई चार कुना मिलाएर प्रयोग गरे सुरक्षित हुने बताउँछन् ।
महीनावारी स्वच्छतालाई दृष्टिगत गर्दै नेपालमा पनि गत वर्षदेखि २८ मेका दिन विश्व महीनावारी स्वच्छता दिवस मनाउन थालिएको छ । यस वर्ष यो दिवसको नारा ‘शिक्षाद्वारा परिवर्तन गरौं’ भन्ने रहेको छ ।

‘गर्वका दिन’
महिलामा हुने दुई अण्डाशयलाई पाठेघरमा जोड्ने दुइटा नली हुन्छन् । किशोरी अवस्थामा पुगेपछि अण्डाशयबाट हरेक महीना नलीहुँदै अण्डा बाहिर निस्किन्छ । त्यही बेलादेखि पाठेघरको भित्री तहमा हरेक महीना रगतको तह टाँसिन्छ । महिलाको अण्डा र पुरुषको शुक्रकीट मिलन नभएमा पाठेघरमा जम्मा भएको त्यही रगत टुक्रिएर शरीरबाट बाहिर निस्किने कार्यलाई नै महीनावारी भनिन्छ । महीनावारी हुँदा ३५ मिलिलिटरदेखि ५० मिलिलिटरसम्म रगत निस्किन्छ ।

“महीनावारी भएर नै महिला सन्तान जन्माउन सक्षम भएका हुन्छन् । यसले यो गर्वको विषय हो; लाज मान्ने, धकाउने होइन”, अधिकारकर्मी पौडेल भन्छिन् ।

एउटी महिला जीवनमा करीब तीन हजार दिन अर्थात् ८ वर्ष ३ महीना महीनावारी समय मानिन्छ । यो अवधिमा हुने महीनावारीको छुवाछूतले महिलाको गतिशीलता र रोजगारीमा असर पुगेको यूएन वुुमनकी जोशी बताउँछिन् । “यसले राष्ट्रसंघको दिगो विकास लक्ष्य प्राप्तिमा समेत असर पारिरहेको छ”, उनी भन्छिन् । खानेपानी तथा सरसफाइ समन्वय परिषद्का नेपाल निर्देशक श्रेष्ठ भने महीनावारीका विषयमा पुरुषले पनि परिवारका सदस्यसँग खुलेर कुराकानी गर्नुपर्ने बेला आइसकेको बताउँछन् । 

प्रतिकृया दिनुहोस