डा केसीको अनशन एक दिनलाई स्थगित, दाङमा अस्पतालको असहयोग
आफूसँग भएका पूर्व सहमति कार्यान्वयनको माग गर्दै दाङमा अनशन शुरु गर्न लागेका सत्याग्रही डा गोविन्द केसीले आजका लागि अनशन स्थगित गरेका छन् ।
अनशन बस्नका लागि आजै दाङको घोराही आइपुगेका डा गोविन्द केसीले राप्ती उपक्षेत्रीय अस्पतालमा अनशन बस्ने निधो गरेको भए पनि अस्पताल र जिल्ला प्रशासन कार्यालयको अवरोधले अनशनस्थल फेरिएको छ ।
आफ्नो एघारौँ अनशन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न लागेका डा केसी अब सिरडी साई मन्दिर घोराहीमा अनशन बस्ने तय भएको छ ।
डा केसीको अनशनमा अवरोध गर्न आज बिहान सर्कुलर जारी गरेको अस्पताल प्रशासनले प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेलाई गुहारेको थियो ।
अस्पतालमा शौचालय र आइसियुको अभाव देखाउँदै अनशन रोक्ने मागसहित अस्पताल प्रशासनले आज बिहान जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो ।
दाङमा मेडिकल कलेज स्थापनाको समेत माग राखेका डा केसीले आफ्ना माग पूरा नहुँदासम्म काठमाडौँ नफर्कने बताएका छन् ।
अब डा केसीले भोलि दिउँसो २ बजेदेखि अनशन बस्ने बताएका छन् ।
स्वास्थ्यमन्त्री गगन थापाले समेत भोलि २ बजेसम्मका लागि डा केसीसँग समय माग गरेपछि आज अपराह्न ४ बजेबाट शुरु गर्ने भनिएको अनशन भोलिसम्मका लागि रोकिएको डा केसीका सहयोगी डा सुमन आचार्यले जानकारी दिए ।
रासस