निर्वाचनबारे संसदीय छानविन समिति गठन
व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ ।
प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान भएको सहमतिपछि संसद् सुचारु भएसँगै सो प्रस्ताव पेस भएको हो ।
समितिमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी, नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भाष्कर भद्रा र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका डा. सुवोधकुमार पोखरेल छन् ।
माओवादी केन्द्रमा मुख्य सचेतक टेकहादुर बस्नेतले प्रस्तुत गरेको प्रस्तावमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र भानुभक्त ढकालले समर्थन गरेका थिए । प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।
संसद्को नियमावली, २०७३ को नियम १८३ बमोजिम गठित समितिको कार्यावधि तीन महिनाको हुनेछ । रासस