मनसुनमा फोक्सुण्डो (तस्वीरहरु)
शब्द/तस्वीर: जय पौडेल
मनसुनको बादललाई धौलागिरि शृंखलाले छेकिरहेकै बेला डोल्पा पुग्ने हो भने डेभिड स्नेलग्रोभको क्लासिकल कृति ‘हिमालयन पिलग्रिम्स’ मा उल्लेख भएको, पिटर म्याथिस्सेनको ‘स्नो लियोपार्ड’ मा चित्रित गरिए वा एरिक भालीको ‘क्याराभान’ मा देखाइएको किंवदन्ती समान दृश्यहरूले पर्खिरहेको पाइन्छ ।
अझै पनि उति नछिचोलिएको हिमालपारिको जिल्ला डोल्पाका परिदृश्यहरू अतुलनीय रुपमा मोहकरुप र स्थिर लाग्छन् ।
६० वर्षअघि स्नेलग्रोभले छिचोलेका यहाँका नदी, ताल र पहाडहरू उस्तै भए पनि डोल्पामा केही परिवर्तन भएको छ । कालोपत्रे भइसकेको जुफाल विमानस्थलमा सुर्खेत र नेपालगञ्जबाट दिनहुँ विमान ओर्लन्छन् ।
रुकुमतिरबाट सडक आइपुगेको त्रिवेणीबाट तीन दिन पैदल उत्तर लाग्दा पनि पुगिने जुफालबाट अर्को तीन दिन हिंडेपछि पुगिन्छ, नेपालको सबभन्दा भव्य र डोल्पाको नक्षत्र फोक्सुण्डो ताल ।
यात्रामा देखिन्छ, चहकिलो हरियो वन र रिंग्मो गाउँका तरेली परेका सुन्दर फाँटहरू ।
समुद्र सतहबाट ३६११ मिटरको उँचाइमा करीब ४० हजार वर्षअघि पहिरोबाट बनेको फोक्सुण्डो तालमा १७० मिटरमाथिबाट झरना झरेको आवाज त्यहाँ पुग्नुभन्दा एक घण्टा अगाडिबाटै सुनिन थाल्छ ।
यहाँ मैले भन्नैपर्छ– प्रस्तुत कुनै पनि तस्वीरले १४५ मिटर गहिराइको यो हरियो दहमा डुबुल्की मारिरहेका पहाडहरूको दृश्यमाथि न्याय गर्न सक्दैन, तपाइँ आफैं यहाँ पुग्नुपर्छ ।