भरतपुर अपडेटः रोकिएको मतगणना शुरु
अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ७ बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः शुरु भएको छ ।
भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक मतपत्र अर्धकट्टीसहित भेटिएको थियो । फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना शुरु गरिएको हो ।
पछिल्लो मतगणनामा नेकपा एमालेका देवीप्रसाद ज्ञवालीको अग्रता कायमै छ । उनले ३७ हजार ११८ र नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३५ हजार ५१८ मत प्राप्त गरेकी छन् । महानगरका पाँच वटा वडा मतगणना गर्न बाँकीे छ । हालसम्म १३ वटा वडामा एमाले, ७ वटा वडामा नेपाली कांग्रेस र तीन वटा वडामा माओवादी केन्द्र निर्वाचित भएका छन् । रासस