भोकालाई खुवाउने विष्णु
तीन वर्षअघि दशैंमा एक बालकले आफूले तीन दिनदेखि केही खान नपाएको भन्दै हात फैलाएपछि भरतपुर–१०, चितवनका विष्णु पौडेल (३८) को मन बेस्सरी पोल्यो। ती बालकलाई पेटभरि ख्वाएका उनले त्यसै दिनदेखि भोकाहरूलाई खुवाउने प्रण गरे।
८ कात्तिक २०७० बाट शुरू गरिएको 'कोही भोका नहुन्' अभियानबाट उनले चितवन मात्र होइन, देशका ५४ वटा शहरका ६४ होटलमार्फत निःशुल्क खाना खुवाउने व्यवस्था पनि गरेका छन्। यस्ता होटलमा 'कोही भोका नहुन्' सन्देशसहितको बोर्ड पनि राखिएको छ। अभियानको आरम्भमा पूर्वपश्चिम यात्रा गरी पौडलले विभिन्न होटल छनोट गरी अभियानमा सघाउन अनुरोध गरेका थिए। “काम गर्न नसक्नेले भोकै बस्नु नपरोस् भनेर अभियान शुरू गरेको हुँ”, उनी भन्छन्।
तर, काम गर्न सक्ने भएर पनि माग्न रुचाउनेहरू पौडेलको 'भोका' भित्र पर्दैनन्। शारीरिक र मानसिक रूपमा अशक्त, सडक बालबालिका तथा वृद्धवृद्धा मात्र प्राथमिकतामा पर्छन्। अभियान अन्तर्गत दैनिक करीब ४५० जनाले खाना खाइरहेका छन्।
भोकाको सहारा बनेका पौडेल आफैं स्वयं कुनै हुनेखाने होइनन्। स्थानीय सप्तगण्डकी बहुमुखी क्याम्पस नजिकै 'विद्यार्थी पुस्तक पसल' सञ्चालन गरिरहेका उनी त्यसैको आम्दानीले अभियान चलाइरहेका छन्। पौडेल भोकालाई खाना खुवाउने अभियानमा अहिलेसम्म करीब रु.२८ लाख सकिएको बताउँछन्।
बिहान ६ देखि बेलुकी आठ बजेसम्म खाना तथा अन्य परिकारहरू खुवाउन पौडेलले होटलहरूसँग सम्झौता गरेका छन्। र, मासिक ब्यांकमार्फत भुक्तानी गर्छन्। तर, पछिल्लो समयमा होटल आफैंले पनि अभियानमा सघाउन थालेको पौडेलको अनुभव छ। “तपाईंले राम्रो काम गर्नुभयो भनेर अहिले केही होटलले आधा त केहीले पैसा पर्दैन भन्न थालेका छन्”, पौडेल भन्छन्।
पौडेलको परोपकारी कर्मका साक्षी हुन्, बुटवलको चौराहास्थित पाण्डे स्वीट्स कर्नरका हरि पाण्डे। पौडेलको आग्रह मानेर उनले अशक्त, असहायहरूलाई निःशुल्क खाना खुवाउँदै आएका छन्। खाना खुवाएबापत न्यूनतम शुल्क मात्रै अभियानकर्ता पौडेलसँग लिन्छन्।
चितवन, नारायणगढस्थित होटल मोती महलका सञ्चालक ऋषिराम सापकोटा पौडेलको अभियानलाई 'राम्रो काम' ठान्छन्। पौडेलकै अभियान अन्तर्गत उनले १० जनालाई नियमित खाना खुवाउने गरेका छन्। “सेवामूलक काम भएकोले सहयोग गरिरहेको छु” उनी भन्छन्।
भोकाप्रति पौडेलको आसक्तिको अन्तर्य भने प्रेम नै हो। “प्रेमले जीवन चल्छ” उनी भन्छन्, “यो अभियान पनि भोकाहरूप्रतिको मेरो प्रेम नै हो।” पौडेल झै धेरैको प्रेमको परिभाषा बृहत् हुने हो भने कोही कतै भोका रहने थिएनन्!
भरतपुर–१० का बासिन्दा पौडेलले १६ वर्ष अघिबाट पुस्तक पसल सञ्चालन गरेका हुन्। पुस्तक पसल गर्नु अघि उनी भारतीय चक्लेट कम्पनी र पुस्तक प्रकाशनका लागि मार्केटिङको काम गर्दथे।
सविता श्रेष्ठ