४० किलो चाँदीसहित दम्पती पक्राउ
मोरङ प्रहरीले तस्करीको ४० किलो चाँदीसहित विराटनगर तिनटोलिया शान्ति चोकका सञ्जय अग्रवाल र उनकी श्रीमतीलाई १० जेठ अपरान्ह पक्राउ गरेको छ ।
विराटनगरबाट बीआर ३८ एफ ७८०० भारतीय नम्बरको अल्टो कारमा भारत अररियाको फारबिसगञ्जतर्फ जाँदै गरेका दम्पत्तीलाई विराटनगर भन्सार अगाडि रोकेर तलासी गर्दा गाडीमा चाँदी फेला परेको प्रहरीले जनाएको छ ।
ससाना डल्लो र धुलो चाँदीका पोका लिएर उनीहरु भारत तर्फ जांदै थिए ।
सीमावर्ति क्षेत्रमा सुनचाँदीको तस्करी भई रहेको सूचनाका आधारमा चार दिनअघि विशेष प्रहरी परिचालन गरी यो सफलता मिलेको प्रहरी उपरीक्षक संदीप भण्डारीले बताए ।
पक्राउ परेका अग्रवालले आफू चाँदीको कारोबारी भएको प्रहरी समक्ष स्वीकार गरेका छन् । कारोबारी अग्रवालको पेशा संगठित भए प्रहरीले कारवाही अगाडि बढाउने तथा ब्यक्तिगत भए राजश्व अनुसन्धान विभाग मार्फत कारवाही हुने प्रहरीले जनाएको छ ।
निर्वाचनको माहौलमा सुरक्षा निकाय ब्यस्त भएको बेला सुनचाँदी तस्करी हुने गरेको आशंकामा विशेष प्रहरी कोही दिनदेखि परिचालन गरिएको थियो ।
नेपाली नागरिक अग्रवालले भारतीय नम्बरको कार प्रयोग गर्नुमा कारोबारमा भारतीय नागरिकको पनि संलग्नता रहेको अनुमान गरिएको छ ।
कमल रिमाल, विराटनगर