तराईमा गर्मीले जनजीवन प्रभावित, अस्पतालमा विरामीको चाप बढ्यो
अत्याधिक गर्मीका कारण मध्य तराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।
बिहानै देखि चर्को घाम लाग्ने र तातो हावा चल्ने पर्साको वीरगंज, बाराको कलैया, रौतहटको गौर बजारमा सर्वसाधारणको चहल पहलमा निकै कमी आएको छ । चर्को घाम र तातो हावाका कारण घरबाट बाहिर निस्कन सर्वसधारणलाई कठिन भइरहेको स्थानीय निरञ्जन जैसवालले बताए ।
सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीहरुको संख्यामा कमी आएको छ । केही सातादेखि बढेको गर्मी तथा सुख्खा यामका कारण पर्सा जिल्लामा मात्रै डेढ दर्जन भन्दा बढी घरमा आगलागी भएको छ । जिल्लाको ग्रामिण भेगमा बारुण यन्त्रको अभावका कारण पनि आगलागी चाडै नियन्त्रणमा आउन नसकेकाले धनमालको बढी क्षति भएको छ ।
गर्मीका कारण बढी पसिना बगेर शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, झाडा पखाला लाग्ने, रिंगटा लाग्ने जस्ता लक्षणहरु बढी देखा पर्न थालेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डाक्टर जितेन्द्र प्रसाद यादवले बताए ।
उनले भने “आउँ, ज्वरो, झाडापखाला, टाइफाइड र जन्डिसका बिरामीका संख्या अत्यधिक बढेको छ ।” उनले अस्पतालमा प्रत्येक दिन ४०÷५० जना झाडापखालाकै बिरामीहरु आउने गरेको बताए ।
बिरामी हुनेमा अधिकांश ८ वर्ष मुनिका बालबालिका र बृद्धबसद्धाहरुको संख्या बढी रहेको उनको बताए । यससँगै छालारोग लगायत गर्मिमा देखिने घाउ खटिराको बिरामीहरुको चाप समेत ओपीडीमा बढ्ेको चिकित्सकहरुको भनाइ छ ।
वीरगञ्जमा गर्मी बढे पनि नेपाल विधुत प्राधिकरणले भने लोडसेडिङ समय नतोकेरै पटक पटक लाइन काट्ने गरेको छ । विद्युतको आपूर्ति नियमित नहुँदा पनि स्थानीयलाई मर्का परेको छ । अधिंकाश सरकारी विद्यालयहरुमा जेनेरेटरको व्यवस्था नभएका कारण दिउँसो विद्युत नहुँदा पढाई प्रभावित हुने गरेको छ ।
विहानै देखिको चर्को घाम र लु का कारण किसानहरु खेतमा काम गर्न सकेका छैनन् । नहर र बोरिङको सिचाइँ सुविधा नभएका कारण चैते धानमा समेत प्रभाव पर्न थालेको छ ।
यता गर्मी बढेकाले चिसो पेय पदार्थको विक्री वितरण बढेको छ । बजारमा काक्रो, उखु, दही, लस्सी, भुई कटहर, सातु लगायतको कारोबार भने बढेको व्यापारी उमेश कुश्वाहाले बताए ।
गर्मी शुरु भए पनि वीरगंजका विभिन्न ठाउँमा निःशुल्क रुपमा पानी खुवाउदै आएको समर्पण सेवा, कलवार कल्याण सेवा लगायतको संस्थाहरुले बिग्रदै गएको धाराको मर्मत सम्भार नगरेका कारण सर्वसधारण, बटुवाहरु पानी पिउन समेत असहज भएको छ ।
आदर्शनगरस्थित मारवाडी समुदायको सहयोगमा सञ्चालित निःशुल्क जल सेवाले भने दिनभरी सर्वसधारण हरुलाई पानी खुवाउने गरेको जल सेविका उर्मिला देवीले बताइन् ।
जियालाल साह, वीरगञ्ज