आजदेखि भक्तपुरमा साझा यातायात
साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ ।
काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले आजदेखि भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार बिहान छ देखि राति ९ बजेसम्म साझा यातायात स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्नेछ ।
स्वयम्भूबाट १० वटा साझा बस छुट्ने र त्यसैगरी १० वटा बस सूर्यविनायकबाट स्वयम्भूतर्फ आउने पाण्डेले जानकारी दिए ।
स्वयम्भूबाट छुटेको बस कलङ्की, कालीमाटी, रत्नपार्क, पुरानो बसपार्क, थापाथली, माइतीघर, नयाँबानेश्वर, कोटेश्वर, लोकन्थली, कौशलटार, गठ्ठाघर, सल्लाघारी हुँदै सूर्यविनायक पुग्नेछ । रासस