‘चालकले ब्रेक फेल भयो भन्दाभन्दै गाडी खस्यो’
आज विहान सुर्खेतमा १ जनाको मृत्यु र २५ जना प्रहरी घाइते हुने गरी भएको जीप दुर्घटना गाडीको ब्रेक फेल हुँदा भएको घटनाका घाइतेले बताएका छन् ।
घटनाका घाइते प्रहरी जवान भुवन भण्डारीका अनुसार चालकले ‘ब्रेक फेल भयो’ भनेलगत्तै गाडी सडक छेउको बारमा ठोक्किएर २०० मिटर तल खसेको थियो ।
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत भण्डारीका अनुसार गाडी खसेको करिब आधा घण्टापछि आइपुगेको प्रहरीले उनीहरुको उद्दार गरेको थियो ।
दुर्घटनाका घाइतेमध्ये ९ जनालाई नेपाली सेनाको हेलिकप्टारमार्फत शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको छ । तीमध्ये पनि प्रहरी जवान धनबहादुर बुढा र प्रहरी सहायक निरीक्षक गगन सिजापतिको अवस्था सिकिस्त छ ।
कालिकोटमा स्थानीय तहको निर्वाचन सकेर फर्कदै गरेको प्रहरी सवार ना १ ग ४७६ नं को जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर– १४ लादेमा बिहान १० बजे दुर्घटना भएको हो ।
केशव राना,बाँके