संसद् बैठक अझै शुरु हुन सकेन
आज विहन ११ बजेका लागि निर्धारित व्यवस्थापिका–संसद्को बैठक अझै बस्न सकेको छैन ।
स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध गर्ने बताएपछि सहमतिको प्रयासका लागि बैठक सरेको हो ।
प्रमुख दलबीच संसद् चलाउने विषयमा सहमति हुन नसकेपछि संसद् सचिवालयले एकपछि अर्को गर्दै बैठक सरेको छ ।
संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । बर्खे अधिवेशनका रुपमा सोमबारदेखि शुरु भएको बैठकको आजको कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने भन्ने रहेको छ ।
दलहरुबीच सहमति जुटाएर संसद् सञ्चालन गर्ने विषयमा संसद् भवन नयाँबानेश्वरमा दलहरुबीच छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन ।