एमाले र माओवादी केन्द्रद्वारा रुकुममा उम्मेदवारको टुङ्गो
३१ जेठमा हुने दोस्रो चरणमा स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
प्रदेश नं ६ अन्तर्गत पर्ने जिल्लाका छ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन भइसकेको छ भने प्रदेश नं ५ अन्तर्गत पर्ने बाँकी तीनवटा स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।
दोस्रो चरणमा निर्वाचन हुने सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिका सबैमा उम्मेदवारको टुङ्गो लगाएको दुवै पार्टीले जानकारी दिएका छन् ।
एमालेले सिस्ने गाउँपालिकाको अध्यक्षमा नन्दलाल शर्मालाई, उपाध्यक्षमा नुमेन्द्रा खड्कालाई, भुमे गाउँपालिकाको अध्यक्षमा आशा स्वर्णकार, उपाध्यक्षमा कमानसिङ डाँगी र पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा भिउमान घर्ती र उपाध्यक्षमा सीता घतानलाई उम्मेदवार बनाउने एमाले रुकुमले जनाएको छ ।
त्यस्तै माओवादी केन्द्रले पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश घर्ती, उपाध्यक्षमा ओमकुमारी शाही मल्ल, भुमे गाउँपालिकाको अध्यक्षमा रामसुर बुढा, उपाध्यक्षमा मञ्जु विष्ट र सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल, उपाध्यक्षमा गोवद्र्धन बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्का जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए । रासस