नयाँ नीति तथा कार्यक्रम ल्याउन नमिल्ने पूर्व अर्थमन्त्री महतको भनाई
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले निर्वाचन सम्पन्न गर्नुअघि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहिताअनुरुप पुराना नीति तथा कार्यक्रमका लागि भने पूरक बजेट ल्याउन सकिने तर नयाँ कार्यक्रम सार्वजनिक गर्न नमिल्ने बताएका हुन् ।
पूर्व अर्थमन्त्री महतले विगतका राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिनेगरी काम चलाउ बजेट ल्याउनुपर्नेमा जोड दिँदै सरकारले आगामी बजेटमा भूकम्प पछिको पुनःनिर्माण कार्यमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधन प्रस्तावलाई छिटोभन्दा छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनको मुखमा स्थानीय तहको सङ्ख्या वृद्धि गर्नु आचारसंहिता विपरीत भएकाे बताए ।
नयाँ सरकार निर्माणका लागि याे सरकारले तत्काल राजीनामा दिनुपर्छ भन्दै पूर्व अर्थमन्त्री महतले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेसको व्यवस्थापनको कमजोरी, पार्टीगत अन्तर्घातलगायतका कारणले सोचेअनुरुपको नतिजा आउन नसकेको स्वीकार गरे । रासस