'स्पष्ट कार्ययोजना भएको, रोजगार सृजना गर्ने उम्मेदवार चाहियो'
स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै बाँकी रहेका ४ वटा प्रदेशमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
पर्सामा राजनीतिक दलहरुले योग्य उम्मेदवार चयन गर्न र सम्भावित उम्मेदवारहरुले आफ्नो छवि जनतामाझ प्रदर्शन गर्न विभिन्न राजनीतिक तथा समाजिक गतिविधिहरु बढाएका छन् ।
पर्साको पोखरीया नगरपालिकामा राजनीतिकदलहरुले वडा समिति गठन, पार्टी प्रवेश, सरसफाई लगायतको कार्यक्रमलाई तिब्रता दिएका छन् ।
तर यहाँका स्थानीय भने नगरको विकासकालागि देखावटी काम गर्ने भन्दा रोजगार सिर्जनागर्न सक्ने, दीगो विकासका लागि स्पष्ट कार्ययोजना भएका इमान्दार उम्मेदवारको खोजीमा छन् ।
पोखरिया नगरपालिकाका विभिन्न वडाका दलित, जनजाति, विद्यार्थी, व्यापारी, अगुवा लगायतका व्यक्तिहरुसँग लिईएको प्रतिक्रियामा उनीहरुले रोजगारी, अस्पताल, खानेपानी र सडक पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राख्ने, दीगो विकासमा ध्यान दिने उम्मेदवारलाई मतदिने बताएका छन् ।
स्थानीय प्रभादेवी रामले भने सरकारी विद्यालयहरुमा शिक्षाको गुणस्तर वृद्धी गर्ने स्तरीय शिक्षादिक्षाको व्यवस्था गराउन सक्ने उम्मेदवारको अपेक्षा गरेकी छिन् ।
यसैगरी स्थानीय व्यापारी भोला गिरीले भने, “दिगो विकासका लागि स्पष्ट दृष्टीकोण भएको इमान्दार युवा उमेदवारको आवश्यक्ता छ ।”
उनले जाति, वर्ग र धर्म भन्दा माथि उठेर सम्पूर्ण नगर र नगरवासीलाई सेवा–सुविधाको विभेदरहित वितरण गर्न सक्ने उम्मेदवार मत दिने बताए ।
यसैगरी श्री रामचरित्र उमावि पोखरीयाकी विद्यार्थी मालाकुमारी दासले विकासका लागि उपयुक्त कार्ययोजना भएको इमान्दार र पक्षपात नगर्ने नगरप्रमुखको खाँचो रहेको बताइन् ।
“महिला, दलित, जनजाति सबैैलाई समानअवसर दिलाउने शिक्षित र अनुभवी उमेदवार हुनुपर्छ,” उनले भनिन् ।
पोखरीया नगरपालिकाका लागि नेकपा एमालेबाट पूर्व सभासद प्रदुमन चौहान, नेपाली कांग्रेसबाट पूर्वसभासद रामेश्वर रौनियार र मुडलीका पूर्व मुखिया राजेन्द्र कुर्मी, संघीय समाजवादी फोरमबाट विन्दाचल ठाकुर, माओवादी केन्द्रबाट रामबाबु बैठा, राजपा नेपालबाट जोगानन्द चौहान र राजु साह लगायतका उम्मेदवारहरुले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
चुनावको दिन नजिकिंदै गर्दा मतदातालाई आफ्नो पक्षमा पार्न केहीले भित्रभित्रै चुनावी कार्यक्रम शुरु गरिसकेका छन् भने केही पार्टीबाट टिकट पाएपछि कार्यक्रम गर्ने प्रतिक्षामा छन् ।
जियालाल साह, पर्सा